धनगढी, ११ भदौ/ सुदूरपश्चिम प्रदेशमा भइरहेको शहरीकरणलाई व्यवस्थित पार्ने क्रममा सरकारले यहाँका चार नगरपालिकामा तत्कालै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्न लागेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित क्षेत्रिय शहरी विकास आयोेजनाले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकामा यो प्रणाली लागू गर्न लागिएको हो । सोअन्तर्गत सडकको नाम, ठेगाना र क्षेत्र विभाजन गरिने छ । नगरभित्रका सबै घरले मेट्रिक प्रणालीअन्तर्गत वैज्ञानिक तवरले घर नम्बर प्राप्त गर्नेछन् ।
यसरी बाटाको नाम र घरघरमा नम्बर प्रदान गरेपछि कुनैपनि बाटो र घर एकीन गर्न सजिलो हुने क्षेत्रिय आयोजना कार्यान्वयन एकाइ धनगढीका आयोजना व्यवस्थापक परिक्षित कडरियाले जानकारी दिए । यसका लागि संस्थागत विकास परामर्शदाताबाट कार्य भइरहेको उनले बताए। उनका अनुसार चारवटै नगरमा सर्वेक्षण टोली घर घरमा पुगिरहेका छन् ।
मेट्रिक ठेगाना प्रणालीमा प्रदान गरिने घर नम्बर मूल सडकको केन्द्रबाट घरको मूल गेटको दुरीमा आधारित भएको जीआइएस प्रणाली विज्ञ उमेश कुँवरले बताए । यसबाट बाटो पत्ता लाग्ने वित्तिकै घर कति टाढा छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । घर नम्बर दिँदा बाटोको बायाँपट्टी बिजोर र दायाँपट्टी जोर नम्बर दिइने कुँवरले बताए ।
ठेगाना प्रणाली लागु भएसँगै हरेक घरले घर नम्बर देखिने गरी राख्नुपर्नेछ । पछि थपिने घरका लागि सम्बन्धित नगरपालिकाबाटै घर नम्बर प्रदान हुने पनि आयोजनाले जनाएको छ । यसरी पूर्णरुपमा घर नम्बर प्रदान गरिसकेपछि पत्राचारलगायत आफ्नो ठेगाना लेख्दा पूर्णरुपमा नयाँ ढाँचामा लेख्नुपर्ने र त्यसरी लेखिएको ठेगाना सजिलै पहिचान हुने पनि आयोजनाको भनाइ छ ।
हाल स्थान र बाटोको नामकरण सम्बन्धी कार्य भइरहेकोले नामकरणको क्रममा स्थानीय चलनचल्ती, ऐतिहासिकतालगायतका आधारमा नाम उपलब्ध गराउने कार्यमा सहयोग गर्न सबै स्थानीयवासीलाई आयोजनाले आग्रह गरेको छ ।
नामाकरणको क्रममा एक भन्दाबढी वडामा पर्ने सडकको नामाकरण सम्बन्धित नगरपालिकाबाट हुने बताइएको छ ।