धनगढी, ८ भदौ/ धनगढी उप–महानगरपालिकामा सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १२ जना आन्तरिक ट्राभल हिस्ट्री भएका स्थानिय र एक जना मात्रै भारतबाट आएका व्यक्ति रहेका छन् । यो संगै धनगढीमा स्थानिय संक्रमितको संख्या ३५ पुगेको छ ।
नेपालमै पहिलो पटक धनगढीमा स्थानियमा संक्रमण देखीएको थियो । दुबईबाट आएका व्यक्तिबाट उनको परिवारमा कोरोना संक्रमण भएपछि स्थानीय संक्रमण सुरु भएको थियो । अहिले धनगढीमा स्थानियमा संक्रमण ह्वात्तै बढेको छ ।
आन्तरिक ट्राभल हिस्ट्री भएका शिक्षक, व्यापारी, बैकंका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मीमा संक्रमण देखीन थालेको छ । विज्ञहरुले धनगढीमा कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेको बताएका छन् । सिमाना गौरिफण्डा संग प्रत्यक्ष जोडीएको कारण धनगढीको स्थिती भयावह बनेको अनुमान गरेका छन् ।
धनगढीमा अहिले जहाँ जसले परिक्षण गर्यो त्यही संक्रमण देखीन थालेको छ । आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका स्थानियमा संक्रमण बढेको धनगढी उप–महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मिराज उपाध्यायले बताए ।
‘१९५ जना मध्ये ३५ जनामा स्थानीय संक्रमण देखिनु खतराको सङ्केत हो’ स्वास्थ्य निरीक्षक उपाध्यायले भने ‘ठूलो संख्यामा स्थानीयमा संक्रमण देखिन थालेको छ । अब समुदायमा परीक्षणको दायरा बढाउन आवश्यक देखियो । ’
धनगढीमा संक्रमण बढ्दै गएपछि धनगढी लगाएत जिल्लाभर भदौ ४ गतेदेखी १० दिनका लागी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । हाल सम्म धनगढीमा १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ३५ जनामा स्थानीय संक्रमण देखिएको हो ।
सोमबार आन्तरिक ट्राभल हिस्ट्री भएका एक स्वास्थ्यकर्मी, शिक्षक र संक्रमितको सम्पर्कमा आएकाहरुमा संक्रमण देखीएको छ ।
सेती अस्पतालमा कार्यरत पाचौं कर्मचारीमा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालमा कार्यरत पाचौं कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार धनगढी उप–महानगरपालिका–१ मा बस्दै आएकी ३० बर्षीया एक स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा ती स्टार्फ नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यसअघि सेती अस्पतालका १ स्वास्थ्यकर्मी र ३ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।
संक्रमित शिक्षिकाको सम्पर्कमा आएका चार जनामा संक्रमण
धनगढीमा संक्रमित शिक्षिकाको सम्पर्कमा आएका एकैपरिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उप–महानगरपालिका–५ की संक्रमित शिक्षिकाको सम्पर्कमा आएका वडा नम्बर ४ का एकै परिवारका चार जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सोही विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका, उनका सासु, ससुरा र जेठानी रहेका छन ।
वडा नम्बर ५ की शिक्षिकामा शनिबार संक्रमण पुष्टि भएपछि परिवारका ७ जना सदस्यको परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो ।
कैलालीका ८ स्थानीय तहमा स्थानीय संक्रमण
कैलालीमा कोरोना संक्रमितको संख्या १४ सय ९५ पुगेको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा हाल सम्म ८ स्थानीय तहमा स्थानीय संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
सबै भन्दा बढी धनगढी उप–महानगरपालिकामा ३५ जना, टिकापुर नगरपालिका, गौरिगंगामा नगरपालिका, गोरावादीमा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिकामा स्थानीय संक्रमण देखिएको छ ।
अधिकांश कोरोना संक्रमितहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, चालक प्रहरी र जनप्रतिनिधि रहेको स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामीले बताए ।
धनगढीमा स्थिती नियन्त्रण बाहिर स्थानियमा मात्रै देखीन थाल्यो संक्रमण
धनगढीमा स्थिती नियन्त्रण बाहिर स्थानियमा मात्रै देखीन थाल्यो संक्रमण