धनगढी, ४ भदौ/नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले कोभिड–१९ का क्षेत्रमा गरेका कार्यको सार्वजनिक गरेको छ। आज धनगढीमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कोभिड–१९ को सुरुवातीदेखि गर्दै आईरहेको कार्य सार्वजनिक गरेको हो। रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले कोरोना महामारीका बेला रेडक्रस सोसाइटीले कैलाली जिल्लामा गरेका कार्यको जानकारी गराएका थिए।
जिल्लामा अभिमुखीकरण, घरदैलो कार्यक्रम,पर्चा पम्पलेट जस्ता जनचेतनामुक कार्यक्रम गरेको बताए। कैलालीमा रहेका विभिन्न क्वारेन्टीन व्यवस्थापनका लागि टेण्ट,बाल्टिन, मग, जग, कम्बल, किटनाशक झुल, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको उनको भनाई छ। पत्रकार सम्मेलनमा रेडक्रस कैलाली शाखाका सभापति उत्तम जोशीले रेडक्रसले भाडामा दिएका सटरहरुमा व्यापारीलाई मर्को नपर्ने गरि छलफल भईरहेको बताए।
त्यस्तै पत्रकार महासंघ कैलाली शाखाका कोषध्यक्ष हिमाल जोशीले कोरोनाको महामारी समुदायस्तरमा बढ्दै गएका बेला रेडक्रसले पत्रकारहरुसँग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिएका छन्। रेडक्रस सोसाइटीले त्रिनगर भन्सार नाकामा हेल्प डेस्क स्थापान गरि ४० हजार, ६ सय ३२ जनालाई खानेपानी वितरण तथा गन्तव्य स्थलसम्म जानका लागि सवारी साधानको व्यवस्थापन गरेको रेडक्रसले जनाएको छ।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टर तथा महिला होल्डिङ सेन्टरका लागि बेड,टेलिभिजन र व्यक्तिगत सुरक्षाका सामाग्रीहरु, मनोसामाजिक परामर्शका लागि कर्मचारीको व्यवस्थापन गरेको छ।
यस्तै धनगढी क्षेत्रमा २१ वटा क्वारेन्टिन तथा सार्वजनिक स्थलमा हात धुने स्थलहरु निर्माण गरेको रेडक्रस शाखा कैलालीले जानकारी दिएको छ। धनगढी कारागारमा रहेका बन्दीहरुलाई २०० थान सावुन, त्रिपाल ६ थान र टेण्ट १ वटा वितरण गरेको छ। जिल्लामा बाढी र पहिरोमा प्रभावितहरु ५ सय परिवारलाई गैह्र खाद्य राहत सामाग्री वितरण गरिएका जनाईएको छ।
