धनगढी, ३ भदौ
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले अनुदानका लागि काम गर्नेलाई नभएर काम गरिरहेकाले अनुदान पाउनुपर्ने बताएका छन् ।
बुधवार सप्रोस नेपालले आयोजना गरेको समुदाय उत्थानशिल जिविकोपार्जनका लागि मुल्य श्रृंखलामा महिलाको नेतृत्व र सशक्तिकरण कार्यक्रमको नगरपालिका स्तरीय परिचयात्मक कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन । अहिले अनुदान लिनकै लागि काम गर्नेहरु धेरै छन् नगरप्रमुख वडले भने, बस्तविक रुपमा काम गरिरहेका तर लगानी पु¥याउन नसकिरहेकाहरुले अनुदान पाउनुपर्छ ।
यस परियोजनाको उदेश्य तालिम संग जोडिएकाले तालिम लिएकाहरुलाई नभएर तालिम नपाएका तर तालिम लिन ईच्छुकहरुलाई छनौट गर्न नगरप्रमुख वडले आग्रह गरे । अहिले एउटा समुह तालिम लिदै हिड्ने तर काम नगर्ने भेटिएको छ नगरप्रमुख वडले भने, यस्तो हुनु हुदैन ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले मुल्य श्रृंखलामा महिलाको नेतृत्व र सशक्तिकरणको मोडालिटी कस्तो रहन्छ भन्नेमा आयोजकहरु संग जिज्ञासा राखेकी थिईन । उप–प्रमुख भट्टले महिलाको नेतृत्व र सशक्तिकरण बिना गरिने कुनैपनि कार्य सफल मान्न नसकिने बताईन । समुदाय उत्थानशिल जिविकोपार्जनका लागि मुल्य श्रृंखलामा महिलाको नेतृत्व र सशक्तिकरण कार्यक्रम धनगढी उप–महानगरपालिकाको समन्वयमा बिश्व खाद्य कार्यक्रमको सहयोग एवम् सप्रोस नेपाल र सभा नेपाल संगको साझेदारीमा काम गरिरहेको छ ।