काठमाडौं, ३२ साउन/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको कीर्तिपुर र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
नेविसंघले आइतबार विज्ञप्ति जारी गरेर साउन २७ गते त्रिभुवन विश्वविद्यालय र साउन २८ गते वीरगञ्जबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञप्तिमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै भदौ २ गते देशव्यापी प्रदर्शन गरिने उल्लेख छ । त्यसअघि नेविसंघले भदौ १ गते देशभरका क्याम्पस बन्द गर्ने भएको छ ।
साउन २६ गते वीरगञ्जमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई साउन २८ गते पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको छ । उनीहरुले वीरगञ्जका स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदानको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा पक्राउ गरेर राति ११ बजे रिहा गरिएका ती विद्यार्थीलाई प्रहरीले साउन २८ गते पुनः पक्राउ गरेपछि नेविसंघ आक्रोशित बनेको छ । यस्तै साउन २७ गते विभिन्न मागहरु अघि सारेर त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई पनि प्रहरीले तोडफोड गरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायतका आठ जनालाई पक्राउ गरेको हो ।
उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगबाट विश्वविदालयमा तोडफोड गरेर नेविसंघ नेताहरुलाई षडयन्त्रपूर्वक पक्राउ गरिएको नेविसंघले दाबी गर्दै आएको छ ।
