धनगढी, ३१ साउन/ चन्दा संकलन गरी नागरिकस्तरबाट डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर प्रयोगशालामा फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन सञ्चालनमा आएको छ ।
ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा स्थापना भएको पीसीआर प्रयोगशालाको महत्वलाई बुझेर संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन उपलब्ध गराएको हो ।
मन्त्रालयले उपलब्ध गराएको फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिन साउन २४ गतेदेखि सञ्चालनमा आएको हो ।
फुल्ली अटोमेटिक एक्स्ट्रयाक्सन मेसिनले पूर्ण रुपमा काम गरे दैनिक एक हजार जनाको कोरोना परीक्षण हुने प्रयोगशाला प्रमुख ईश्वरी भुषालले बताए ।
ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरा अस्पतालमा स्थापनामा भएको पीसीआर मेसिनको प्रतिदिन चार सिफ्टमा तीन सय ८४ जनाको स्वाव परीक्षण गर्न सक्ने क्षमता रहेको थियो ।
जनशक्तिले पूर्णता पाएमा दैनिक एक हजार जनाको कोरोना परीक्षण गर्न सकिने प्रयोगशाला प्रमुख भुषालले बताए । एक महिनाअघि स्थापना गरिएको पीसीआर प्रयोगशालामा शुक्रबारसम्म पाँच हजार २ सय ४९ जनाको कोरोना परीक्षण भएको छ । जसमध्ये दुई सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।