धनगढी, ३० साउन/भारतमा रोजगारी गुमाएर घर फर्किनेको संख्या बढेपछि बझाङका क्वारेन्टिन फेरि भरिन थालेका छन् । भारतमा कोरोना संक्रमणले भयावह रूप लिन थालेपछि धेरैजसो जिल्लाबासी रोजगारी गुमाएर गाउँ फर्किँदा फेरि क्वारेन्टिन भरिन थालेका हुन् ।
भारतमा तलब पाउने समय १ तारिखदेखि १५ तारिखसम्म भएकाले धेरैजसो तलब बुझेर घर फर्कन थालेको केदारस्युँ गाउँपालिकाका नरेश धामीले बताए । उनका अनुसार अस्पतालले विरामी चेकसमेत नगर्ने, साहुहरूले तलब घटाउने र जागिरबाट निकाल्ने क्रम बढेपछि जिल्ला भित्रने क्रम बढेको हो । ‘अन्य विरामी भए पनि भारतका अस्पताल चेकजाँच गर्न मान्दैनन् । तलब पनि घट्यो । प्रदेशमा तड्पेर बाँच्नुभन्दा आफ्नै गाउँघर सुखदुःख गरौँला भनेर फर्कियौँ,’ छबिसपाथिभेरा गाउँपालिका–७ का जनक धामीले भने ।
बझाङमा २१ साउनंदेखि बुधबारसम्म जिल्ला भित्रिनेको संख्या ५ सय ९६ रहेकोमा भारतबाट मात्रै यो अवधिमा ५ सय २२ जना विभिन्न क्वारेन्टाइनमा थपिएका छन् । बुधबार ८५ जना थप भएसँगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ७७ पुगेको छ ।
बझाङमा अहिलेसम्म २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय २० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।