धनगढी, ३० साउन/सुदूरपश्चिम प्रदेशमा शुक्रबार एक हजार बढिको कोरोना परीक्षण गरिएको छ । सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरी एक हजार ३० जनाको कोरोना परीक्षण गरिएको हो ।
यो संख्या अहिले सम्म २४ घण्टामा गरिएको परीक्षणको सर्वाधिक हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आठ सय ८९ र डडेल्धुरा अस्पताल प्रयोगशालामा एक सय ४१ जनाको परीक्षण गर्दा पाँच जनामा मात्रै संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा आठ सय ८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको बताए। उनीहरु सबैजना अछामका हुन्।
सूचना अधिकारी श्रेष्ठले अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले बझाङका बित्थडचीर गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ। अन्य सबैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ७४ पुगेको छ ।
