धनगढी, २८ साउन/कैलालीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । हिरासतमा मृत्यु भएका फूलवारीका एक जनाले आफनो घाँटी आफैले काटेको खुल्न आएको छ । ईलाका प्रहरी कार्यालय फूलवारीको हिरासतमा रहेका धनगढी उप–महानगरपालिका–१४ फूलबारी सी गाउँका अमरबहादुर चन्दले शौचालयमा आफैले धारिलो ब्लेड बस्तुले आफनो घाँटी काटेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपि प्रतिक बिष्टले जानकारी दिए ।
बुधबार बिहान करिब २ बजे मदिरा सेवन गरी हतियार बोकी हो–हल्ला गरिरहेको भन्ने प्रहरीलाई खबर आएपछि बुधबार बिहान ३ बजे प्रहरी चौकी फूलबारीले उनलार्ई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय फूलबारीको थुनुवा कक्षमा राखिएको उनले बताए ।
बिहान पख दुबै पक्षलाई बोलाई कुरालाई अगाडी बढाउने तयारी भई रहेका बेला मृतक शौचालय जान्छु भनेर गएको केही बेरमै शौचालयबाट लडेको जस्तो आवाज आएपछि हेर्न जाँदा घाँटीमा चोट लागेर बेहोस भएको अवस्थामा प्रहरीले पाएको डिएसपी प्रतिक बिष्टले बताए ।
उनलाई तत्काल उपचारको लागि सेती प्रादेशीक अस्पतालमा पुगाइएको र उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।