धनगढी, २८ साउन/सुदूरपश्चिममा कोरोना संक्रमण दर भयावह बनिरहेका बेला धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट कोरोना परिक्षण बन्द गरिएको छ । जनशक्ति अभावको कारण देखाउँदै पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट मंगलबारदेखि नै परीक्षण गर्न बन्द गरिएको छ ।
सघिय सरकार मार्फत पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिन सञ्चालन गर्ने जनशक्तिलाई नयाँ प्रयोगशालामा खटाईएपछि बन्द भएको हो। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले तामझामका साथ प्रयोगशालाको उद्घाटन गर्दै धनगढीमै दुईवटा प्रयोगशाला भएको भन्दै परीक्षणको दायरा बृद्धि हुने विश्वास व्यक्त गरे। तर मुख्यमन्त्रीको विश्वास विपरीत स्वास्थ्य कार्यालय कैलालीमा स्थापना गरिएको प्रयोगशालाबाट परीक्षण सुरु भएपछि अर्को प्रयोगशाला बन्द भएको छ।
जसले गर्दा धनगढीमा झण्डै चार महिनापछि प्रयोगशाला स्थापना गरेपनि परीक्षणको दायरा तत्काल नबढ्ने देखिएको छ। स्वास्थ्य कार्यालयमा स्थापना गरिएको प्रयोगशालाबाट भने २४ घण्टामा एक हजार दुई सय बढिको कोरोना परीक्षण गर्न सकिने दावी गरिएको छ। तर प्रदेश सरकारसँग २४ घण्टा नै प्रयोगशाला सञ्चालन गर्न सक्ने जनशक्ति छैन्। सेती प्रादेशिक अस्पतालले अहिले १० जना कर्मचारीबाट कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्दै आएको छ।
१० जनाको जनशक्तिले एउटै प्रयोगशाला सञ्चालन गर्न समेत समस्या भईरहेको र प्रदेशको सामाजिक विकास मन्त्रालयबाट समेत कुनै पहल नभएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
