बझाङ, २३ साउन/ सहायक प्रमुख जिल्ला अधिकारी र अनुसन्धानका डिएसपी चडेको गाडी दुर्घटना भएको एक साता हुँदा पनि प्रशासनले यथार्थ जानकारी दिएको छैन । कैलालीमा गत शनिबार दिउँसो बा १ झ ९२५० नम्बरको सरकारी गाडीले एउटा मोटरसाईकललाई ठक्कर दिएपछि एक जना घाईते भएका थिए तर प्रशासनले गाडीका चालक तथा घटनाका बारेमा यथार्थ जानकारी दिन अस्वीकार गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी घाईते भएका थिए । स्थानीय अस्पतालमा उनको उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरिएको थियो । तर नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय लम्कीचुहाले उक्त गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्यो। मोटरसाईकल ठक्कर दिने गाडी जिल्ला प्रशासन कार्यालय बझाङको रहेको खुलेको थियो।
प्रमुख जिल्ला अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्की र अनुसन्धानका डिएसपी देवेन्द्र थापा चडेर गएको जानकारी भएपनि गाडी चालकका बारेमा भने केही खुलाउन मानेका छैनन् । जिल्ला प्रशासनको गाडी कसले चलाएको छ भन्ने जानकारी नभएको उनले बताए ।
सामाजिक सञ्जालमा अहिले टिका टिप्पणी हुन थालेको छ । निजी गाडी चलाउँदा चालकलाई कानुन बमोजिम कार्बाही हुने सरकारी गाडी चलाउने चालकको पहिचान खुलाउन नमान्ने प्रशासनको विरोध गरिरहेका छन्।
