धनगढी,२२ साउन- प्रदेश २ स्थित मन्त्रालयका कर्मचारीहरु संक्रमित हुन थालेपछि केही मन्त्रालयका सम्पूर्ण कामकाज बन्द गरिएको छ। पछिल्लो पटक समाजिक विकास मन्त्रालयका ४ र मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएपछि सतर्कता र सुरक्षा अपनाउन प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बाहेक सबै मन्त्रालयको कामकाज बन्द गरिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण कामकाज बन्द गरी बाहिर मूल ढोकामै ताल्चा लगाइएको छ भने समाजिक विकास मन्त्रालय, आर्थिक तथा योजना मन्त्रालय, आन्तरिक तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधबार ताल्चा लगाइएको छ।
मुख्यमन्त्री लालबाबु राउतका प्रेस सल्लाहकारका अनुसार मन्त्रालयमा संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षाको दृष्टिगत गर्दै सोही दिनदेखि कार्यालयको कामकाज बन्द गरिएको हो । कन्ट्याक्ट ट्रेसिङ गरी सबै कर्मचारीको स्वाब संकलन गरिएको र त्यसको रिपोर्ट आएपछि मुख्यमन्त्री कार्यालय लगायत अन्य मन्त्रालयको कार्यालय खोलेर कामकाज शुरु गरिने उनले बताए।