धनगढी, २० साउन/सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी कोरोना परीक्षणका लागि धनगढीमा थप एउटा प्रयोगशाला स्थापना गरिएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले प्रयोगशालामा पीसीआर मेसिनसहितका उपकरण जडानको काम सकिएको बताए।
‘प्रयोगशालामा उपकरण जडानको काम सकिएको र पर्सीदेखि परीक्षण सुरु हुने श्रेष्ठले बताए । धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा परीक्षण गरिएका स्वाबको नयाँ स्थापना गरिएको प्रयोगशालामा पुनः परीक्षण भईरहेको उनले बताए।
प्रदेश मन्त्रीपरिषद्को निर्णय अनुसार धनगढीमा थप प्रयोगशाला स्थापना भएको हो। चैत १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।
