धनगढी, १५ साउन- कैलालीको कैलारी गाउँपालिका–८ मा कोरोनाको कारण देखाउँदै सडक ‘पानी पीच’ योजना अलपत्र छोडिएको छ । वडाको दक्षिण टेंढीदेखि बेनौली पेट्रोल पम्पसम्मको ८५० मिटर ग्राभेल सडकलाई पानी पीच (कालोपत्रे गर्नुपूर्व गर्नुपर्ने स्तरोन्नतीको कार्य) गर्ने भन्दै निर्माण पक्षले बीचबीचमा माटो मात्रै थुपारे । माटो थुपार्नु बाहेकको काम अगाडि बढ्न नसकेपछि सडक हिलाम्मे भई आवतजावत बन्द छ । कैलारी गाउँपालिका–८ दक्षिण टेंढीका स्थानीय लक्ष्मण चौधरीले असारमा आएर गरिने विकासले स्थानीयको जनजीवन कष्टकर बनाएको बताए ।
‘अरु बेला सुतेर बसे, अन्तिममा आएर कहिले लकडाउन त कहिले पानी प¥योे भनेर बहानाबाजी गर्ने प्रवृत्तिले विकासको काम अलपत्र पारियो । ठूला सवारीसाधनको त कुरै छाडौं, साइकलसम्म चलाउन सकिँदैन यो बाटोमा,’ उनले घरै अगाडि हिलाम्मे सडक देखाउँदे भने ।
टेंढीकै अर्का स्थानीय हरिप्रसाद चौधरीले आक्रोश पोख्दै भने, ‘कि त चालु अवस्थामा रहेको सडकलाई बिगार्नुु भएन, कि त बनाउने भए समयमै सम्पन्न गर्नुपथ्र्यो । ठेकेदार र नेताहरू हिँड्ने बाटो हो र यो ? हामी साँझबिहान यहीँ बाटो नहिँडी सुख छैन । जनतालाई कहिले यो, कहिले त्यो बहानामा सास्ती मात्रै दिन्छन् विकासको नाममा ।’सो सडक कैलारी गाउँपालिका–८ र ६ जोड्ने मुख्य बाटो हो । सो सडकमा पानी पीच गर्न गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको थियो तर जारी लकडाउन र असारे झरीको कारण देखाउँदै काम हुन नसक्दा सडक हिलाम्मे भई आवातजावात बन्द भएको हो । उपभोक्ता समितिमार्फत सो सडक निर्माणको लागि ठेकेदारलाई निर्माणको जिम्मा लगाइएको थियो तर ठेकेदारले काम नगरेपछि अलपत्र परेको छ ।
काम नभएपछि रकम भुक्तानी भने नभएको कैलारी गाउँपालिकाले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष दुखीराम कठरियाले लकडाउनको कारणले काम नभएको बताउँदै वर्षात लगत्तै काम हुुने दाबी गरे ।गाउँपालिकाले गत आव २०७६र७७ मा सबै वडालाई नमूना सडक बनाउने भन्दै १० वटा सडकको लागि २० लाख रुपैयाँको दरले २ करोड बजेट विनियोजन गरेको थियो तर अधिकांश सडक निर्माणमा झारा टार्ने काम मात्रै भएको स्थानीयको गुनासो छ । काम गरिएको भनिएको सडक असार नबित्दै भत्किएका छन् । सडक हिलाम्मे हुँदा स्थानीयलाई आवतजावतमा सास्ती भएको छ ।
गाउँपालिका–६ वनकट्टामा निर्माण गरिएको पानी पीच सडक असार नबित्दै भत्किएपछि स्थानीय आक्रोशित भएका छन् । वनकट्टा गाउँका भलमन्सा रातिराम चौधरी प्राविधिक र ठेकेदारको लापरवाहीले काम गुणस्तरीय नभएको गुनासो पोख्छन् । यति मात्रै होइन, हाल्नुपर्ने ग्राभेल अन्तै हालेपछि सडक हिलाम्मे भएको र पटक–पटक स्थानीय र ठेकेदारबीच लफडा समेत भएको भलमन्सा चौधरीले बताए ।
गाउँपालिकाका सबइन्जिनीयर गोविन्द रोकायाका अनुसार वडा नम्बर १ हसुलिया बजारमा नाली निर्माण, वडा नम्बर २ रामपुर, वडा नम्बर ३ भड्री, वडा नम्बर ४ केगाउँ, वडा नम्बर ५ छोट्की पलिया, वडा नम्बर ७ मोहनपुर, वडा नम्बर ९ वनकनरी र कोइलही ताल जोड्ने सडकमा पनि पानी पीचको योजना थियो ।
तर हसुलिया बजारमा नाली निर्माण योजना बाहेकका योजना भने पूर्णरूपमा सम्पन्न हुन सकेका छैनन् । सबइन्जिनीयर रोकायाले सबै योजनामा ४५ देखि ६० प्रतिशत मात्रै कार्यप्रगति भएको जानकारी दिए । ती सबै योजनाको कामको लागि गाउँपालिकाले उपभोक्ता समितिसँग सम्झौता गरेको थियो तर उपभोक्ता समितिले भने आफू काम नगरी ठेकेदारमार्फत काम गराएको बताइएको छ ।
ती १० वटा योजना मात्रै होइन, गाउँपालिकाले ९ वटै वडामा १र१ वटा सडक कालोपत्रे गर्न प्रतिसडक ३० लाख रुपैयाँको दरले २ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । ती सबै योजना कार्यान्वयनको लागि पनि उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएको थियो ।
४० लाख बजेट भएको वडा नम्बर २ उजेलीसेमरदेखि बसौटीसम्मको २ किलोमिटर ६०० मिटर सडक, ५० लाख बजेट भएको वडा नम्बर ७ भुइँयाफाँटा सशस्त्र प्रहरी बेस क्याम्पस्थित २ किलोमिटर सडक, २५ लाख बजेट रहेको वडा नम्बर ५ गोबरैयाको १ किलोमिटर सडक योजना निर्माणको लागि पनि उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो भने वडा नम्बर ८ रामपुरदेखि डम्मारीसम्मको सडकखण्ड निर्माणको लागि ५० लाख र रामपुरमै अर्को सडक निर्माणको लागि ३२ लाख बजेट पनि गाउँपालिकाले उपभोक्ता समितिसँगै सम्झौता गरेको सबइन्जिनीयर रोकायाले बताए ।
एता कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले योजनाको स्थिति र बजेट अनुसार निर्माणको कार्य उपभोक्ता समिति र ठेक्कामार्फत निर्माण कम्पनीबाट गराउँदै आएको बताए तर उपभोक्ता समितिको नाममा ठेकेदारबाट काम भएको भन्ने भनाइको औचित्य नभएको दाबी गरे । गाउँपालिकाले उपभोक्ता समितिबाहेक अन्य पक्षलाई नचिन्ने बताउँदै योजनाको काम प्रविधिक इस्टीमेटमा हुने र कामप्रतिको जिम्मेवारी र दायित्व उपभोक्ता समितिको रहने अध्यक्ष चौधरीले बताए । अधिकांश विकास योजनाको काम उपभोक्ता समितिमार्फत हुँदै आएको छ तर ती समिति पहुँचको आधारमा र बन्द कोठाभित्र गठन हुँदै आएको स्रोतको दाबी छ ।
तस्बिर/शब्द : लखन चौधरी



