धनगढी, १४ साउन /सुदूरपश्चिममा बुधबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५७ र डडेल्धुरा अस्पतालमा १७ गरी आज ७४ जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ४ सय १ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरामा भएको परीक्षणमा डोटीका १५ र बैतडीका दुई जनामा संक्रमण पुष्टि भएको हो।
यता सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ३८ पुरुष र १९ महिला गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो।
सूचना अधिकारी श्रेष्ठका अनुसार सबैभन्दा बढि डोटीको आदर्श गाउँपालिकामा ३७ जनामा कोरोना देखिएको छ। उनीहरु मध्ये १४ महिला र २३ पुरुष रहेका छन् । एक बर्षमूनीका ४ जना बालबालिका समेत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला गरी पाँच जना, बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा समेत कोरोना पुष्टि भएको उनले बताए।
सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको भजनी नगरपालिकाका तीन पुरुष र दुई महिला गरी पाँच जना, बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी तीन जनामा पनि कोरोना पुष्टि भएको छ।
डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
हाल सम्म बिभीन्न अस्पतालबाट दुई हजार ८ सय ७३ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।