धनगढी १४, साउन/ नेपाली भूमिमा नै प्रवेशमा रोक लगाएपछि भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले मङ्गलवार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले बाधा–अड्चन नगर्न भनेको छ।
गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेखका हुन्। परराष्ट्र मन्त्रालयसँग समन्वय गरी जिप्रका दार्चुलालाई जवाफ लेख्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।
पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा–अड्चन नगर्न भनिएको छ। दार्चुलाका सिडिओ पोखरेलका अनुसार पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबिच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ।
यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा त्यसमा कहीँ कतैबाट बाधा–अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी गराउँछौँ’ भन्ने उल्लेख छ। पत्र इमेलमार्फत पठाइएको सिडिओ पोखरेलले बताए।
भारतले कालापानी क्षेत्र ५८ वर्षदेखि कब्जा गरेको छ। नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान अवरोध छ । त्यही क्षेत्रमा नेपालीहरू ‘चोरी–छिपी’ पस्न लागेको भन्दै भारतीय प्रशासनले पत्राचार गरेपछि नेपाली अधिकारी आश्चर्यचकित परेका थिए।
३० असारमा धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार सिन्हाले लेखेको पत्रमा भनिएको थियो, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोसिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ।
मिडियाको ध्यानाकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ। त्यसैले तपाईँको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्नुहुन अनुरोध छ ।’
भारतले कालापानीबाट लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरिरहेको छ। त्यसको विरोधमा नेपालले कूटनीतिक नोट पठाएको थियो। १० असारमा भारतले त्यसको जवाफ दिँदै कोरोना महामारी सकिएपछि वार्ता गर्ने बताएको थियो।
तर, त्यसको २० दिनपछि भारत, उत्तराखण्डस्थित धार्चुला प्रशासनले पत्र लेखेर नेपाली समूह भारतीय भूमि गुन्जी, कालापानी र लिम्पियाधुरामा प्रवेश गर्न थालेको दाबी गरेर नेपालीलाई दुःख दिने गरेको थियो।