बैतडी १३ साउन/ भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी पौने ७ बजेसम्म खोलिने भएको हो ।
पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए। बाँध खोलेपछि महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ।
बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको व्यास गाउँपालिका ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यस्तै, बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ। दार्चुला र बैतडीका साथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनले नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ। विसं २०७० मा धौलीगंगौ बाँधकै कारण दार्चुला सदरमुकाममा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको थियो। दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगो परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना दिन थालेपछि नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई जानकारी गराउँदै आइरहेको छ।
यो बाँध यसअघि गत असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो ।