काठमाडौं, १३ साउन/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एक हुनु पर्ने अवस्था सिर्जना भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहितलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।
सरकारमा प्रजातन्त्रविरोधी शक्तिहरु रहेको एवं देश डरलाग्दो स्थितीमा पुगेको भन्दै उनले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको समेत बताए ।
प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उनले बताए । उनले भने, ‘‘डरलाग्दो अवस्था छ । लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ, जसले भोली आउने च्याजेञ्जहरु सामना गर्न सकियोस् । प्रजातन्त्रको सुदृढीकरण गरेर नेपाललाई पूर्ण रुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि एक हुनु आवश्यक छ ।’’ सभापति देउवाले थापालाई अहिले सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराउँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताए । थापा लगायतका नेताहरुको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले गरे ।
