धनगढी,१३ साउन/ सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा २७ जना पुरुष र १५ महिला गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ।
डोटीको आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको उनले जानकारी दिए। कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ८९ पुगेको छ।
संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।