सुर्खेत
साउन १३
कर्णाली प्रदेशमा पहिलो पटक उच्च क्षमताको शीत भण्डार निर्माण भएको छ । भेरीगंगा नगरपालिका १० सुर्खेत छिन्चुस्थित झिलमिलेमा निर्माण भएको शीत भण्डार ( कोल्ड स्टोर ) सबै काम सम्पन्न भएको हो ।
नारी जागरण बहुउद्देश्यीय कृषक समूहले कर्णाली प्रदेशमै पहिलोपटक भेरीगंगा नगरपालिका १० छिन्चुमा सबैभन्दा बढी भण्डारण क्षमता भएको शीत भण्डार निर्माण गरेको हो । उक्त शीत भण्डार ( कोल्ड स्टोर ) मा एक पटममा दुई सय मेट्रिक टन भण्डार गर्न सकिने क्षमता भएको नारी जागरण कृषक समुहका अध्यक्ष ज्ञानु भुसालले जानकारी दिईन् ।
आर्थिक बर्ष २०७६÷०७७ मा कृषि विकास निर्देशनालयको रु ७० लाख र समूहको रु २९ लाख लगानी रहेको छ । अध्यक्ष भुसालका अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा भेरीगंगा नगरपालिकाको रु ६५ लाख, गुर्भाकोट नगरपालिकाको रु ५ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १५ लाख गरी जम्मा रु १ करोड ५९ लाखको लागतमा शीत भण्डार ( कोल्ड स्टोर ) निर्माण कार्य सम्पन्न भएको हो ।
‘यो शीत भण्डारको टार्गेट कर्णाली प्रदेशलाई नै गरेका छौ, अब किसानहरुले फलफुल तथा तरकारी ल्याएर राख्ने काम शुरु गर्छौ एक पटकलाई पाँचदेखि छ महिनासम्मका लागि राख्यो भने प्रति केजी चार रुपैयाँ ५० पैसा लिनेगरी कोल्ड स्टोर कार्यविधि निर्माण गरेका छौं,’ ‘नारी जागरण बहुउद्देश्यीय कृषक समूहकी अध्यक्ष ज्ञानु भुषालले भनिन्,’ ‘यो बनेसँगै कर्णालीका किसानहरूले आलुलगायतका अन्य तरकारी तथा फलफूलको बिउ उत्पादनका अब कर्णालीका कृषकहरुले कोहलपुरको कोल्डस्टोरमा लैजानुपर्ने बाध्यता हट्ने छ,।’
एक कोठामा ५० मेट्रिक टन अट्ने क्षमता भएको शीत भण्डार (कोण्ड स्टोरमा) चार कोठा रहेको अध्यक्ष भुषालले जानकारी दिईन् । समुहले पहिलो, दोस्रो र तेस्रो पुस्ताको बीउ उत्पादन गरिरहेको र कोल्डस्टोर नहुँदा बचाउन गाह्रो भएको समस्या अबका दिनदेखि समाधानमा हुनेमा अब देखि आफु विश्वस्त रहेको बताईन् ।
कोल्ड स्टोरको निर्माण काम सम्पन्न भए सँगै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले उक्त संरचनाको स्थलगत अनुगमन गरेकी छन् ।
कर्णाली प्रदेशमा कोल्ड स्टोरको आवश्यकता भएको बेला नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण कार्य सम्पन्न गरी प्रयोगमा ल्याउन सफल भएकोमा समूहलाई मन्त्री के.सी.ले धन्यवाद दिएकी थिइन् ।
कोल्डस्टोर निर्माण हुनुले कर्णालीका किसानहरुलाई धेरै ठुलो राहत पुग्ने कृषिमन्त्री कृषि बताईन् । ‘यहाँ किसानले उत्पादन गरेको वस्तु करिब छ महिनासम्म राख्न सकिने कुराले अब उत्पादित वस्तु खेर नजाने भएको छ, ‘मन्त्री के.सी.ले भनिन् ,’ यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु आवाश्यक छ,।’
कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कर्णालीमा निर्मित सबैभन्दा ठूलो र पहिलो कोल्डस्टोर निर्माणबाट सबै कृषकहरुलाई लाभ हुने प्रतिक्रिया दिएका थिए । महिलाको नेतृत्वमा अधिकतम् मेहनतका साथ किसानले उत्पादन गरेको तरकारी तथा फलफुल अब कुहिएर फाल्नुपर्ने दुखद अवस्था नआउने उनको भनाई थियो ।
अब जुम्लाको स्याउ पनि यो कोल्ड स्टोरमा राखेर कर्णालीको अर्गानिक फलफुललाई बजारिकरण गर्नका लागि पहिलेको भन्दा सजिलो हुने सरोकार वालाहरुको भनाई रहेको छ ।