धनगढी १२ साउन- नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि ओझा पक्षका नेता कार्यकर्ताको सोमबार धनगढीमा भेला भएको छ । पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी महाधिवेशनको बारेमा छलफल गर्न सोबार धनगढीस्थित विद्या होटलमा भेला बसेको थियो ।
नेपाली कांग्रेस कैलालीका नेता आनन्द जोशीले सोमबारको भेलाले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीले गरेको कारबाही फिर्ता गर्न निर्णय गरेको बताए । उनले ओझालाई कारबाही फिर्ता गर्न सभापती शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने निर्णय भएको उनले बताए ।
नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव पुर्ण कुवँरले पूर्व राज्यमन्त्री ओझालाई गरेको कारबाहीले कैलाली कांग्रेसको राजनितीमा ठुलो असर गर्ने बताए । उनले भने नेपाली कांग्रेसमा रहेका इमान्दार निष्ठावान नेता कार्यकर्ता माथि न्याय नहुने बताए ।
ओझा निकटका नेताहरुले पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने नियतले पार्टीले कारबाहीको निर्णय गरेको आरोप लगाउँदै आएका छन ।
नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो । पूर्वमन्त्री एवम कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।
यस्तै नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ । डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ ।