कैलाली ११ साउन/ नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझा पार्टीबाट निष्कासित गरिएपछि कैलाली काग्रेंसमा खैलाबैला मच्चिएको छ । नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेपछि नेपाली काग्रेंस कैलालीमा तहल्का मच्चिएको हो । काग्रेंसका नेता तथा कार्यकर्ताहरु यो निर्णयपछि गुटमा विभाजित हुन थालेका छन् । ओझा समर्थक नेता तथा कार्यकर्ताहरुले सार्वजनिक रुपमानै ओझालाई निष्कासन गरिएको विषयमा विरोध गर्न थालेका छन् ।
पूर्वमन्त्री एवम् कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।
ओझाले नेतृ डाक्टर आरजु राणालाई गत निर्वाचनमा पराजित गर्न भूमिका निर्वाह गरेको आरोप लगाईएको छ । तर ओझा निकटका नेता तथा कार्यकर्ताहरु यो कुरा मान्न तयार छैनन् । उनीहरुले पार्टीको अनुशासन समितिले गरेको यो निर्णय सच्याउन माग गरेका छन् । उनीहरुले नेपाली काग्रेंसलाई कैलालीमा र सुदूरपश्चिममा बचाउन कारबाहीको निर्णय फिर्ता लिन माग गरेका छन् ।
नेपाली कांग्रेसको अनुशासन समितिले ५ बर्षका लागि पार्टीबाट निष्कासन गरिएपछि यस विषयमा नेता पुष्कर ओझाले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
उनले समय आएपछि यस बारेमा बोल्ने बताएका छन् । यता ओझा गुटका नेता तथा कार्यकर्ताहरुले भने भेला बोलाएका छन् । कैलाली काग्रेंसले निर्वाचन क्षेत्र नम्बर ५ मा रहेका ओझा गुटका नेता तथा कार्यकर्ताहरुलाई भेलामा बोलाईएको छ ।
नेपाली काग्रेंस कैलालीका जिल्ला सचिव पुर्ण कुँवरले सामाजिक सञ्जाल फेशवुकमा सोमवार हुने भेलामा सहभागीता भई दिन आग्रह गरेका छन् । उनले फेशवुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समिक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्नुपर्ने भएकाले साथीहरूलाई भोली १२ गते होटल विद्यामा दिउँसो २ बजे उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’
सो सुचनामा कुँवरले आफ्नोसँगै महासमिति सदस्य आन्दनराज जोशीको नाम लेखेका छन् । ओझाको गुटमा रहेका जिल्ला सचिव कुँवरले कारवाहीको सिफारिस मात्रै भएकोले यसका विरुद्ध पार्टीलाई दबाब दिन भेला वोलाईएको बताए । विकसित पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी अधिवेशनको बारेमा छलफल गर्न भेला बोलाइएको नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले बताए ।
‘पुष्कर दाइलाई कारबाही गर्ने पार्टीको निर्णयबारे छलफल गर्न भेला बोलाएका छौँ’, कुँवरले भने, ‘हामीहरुले सामूहिक राजीनामा दिनेसम्मको निर्णय गर्न सक्छौँ ।’ उनले नेता ओझामाथि गरिएको कारबाही बदर गर्न दबाब दिने र आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलका लागि पनि भेला बोलाइएको बताए ।
‘आयातित मान्छेहरुको अवसरका लागि अर्को पक्षलाई सक्काउने भनेरै पार्टीको एक तप्का लागेको छ’, कुँवरले भने, ‘जो साच्चिकै कांग्रेस हुन् र जेल नेल सहेका छन् उनीहरुलाई निशानामा पारिएको छ, यसले पार्टीलाई फाइदा गर्दैन ।’ कुँवरले आर्थिक अवस्था कमजोर भएका र सामान्य परिवारबाट उदायका नेताहरुलाई कमजोर पार्ने षडयन्त्र गर्दै ठेक्कापट्टामा संलग्न मान्छेहरुलाई नेता बनाउने प्रयास भईरहेको आरोप लगाए । पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने नियतले पार्टीले कारबाहीको निर्णय गरेको उनले बताए । पार्टीमा पुष्करनाथ ओझा भएसम्म मेरा लागि ठाउँ छैन भन्ने बुझाई देउवा पत्नी राणामा भएका कारण अनुशासन समिति उनको प्रभावमा परेको कुँवरले आरोप लगाए ।
२०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा कैलाली ५ बाट शेरबहादुर देउवाले पत्नी आर्जुलाई टिकट दिएपछि रुष्ट भएका थिए । पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आर्जुको प्रचारमा गएका थिएनन् । त्यसपछि आर्जुलाई चुनाव हराउन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो । त्यहाँ नेकपाका उम्मेदवार नारदमुनी राना विजयी भएका थिए । तर ओझालाई कारबाही गर्ने निर्णयले पार्टीलाई आगामी दिनमा पनि फाइदा नहुने कुँवर बताए । उनले भने, ‘पुष्करनाथ ओझा चुप लागेर घरमा बस्दा त चुनाव हराएको आरोप लाग्यो भने कांग्रेसकै नैतिक बन्धनबाट उनी मुक्त हुँदा कस्तो प्रभाव पर्ला सहजै अनुमान लगाउने कुरा हो ।’ उनले जीवनभर राजनीतिमा लागेको व्यक्तिले फेरि पनि राजनीति नै गर्ने बताउँदै भने, ‘पुष्करनाथ ओझाको व्यक्तिगत जीवन छैन । उहाँ राजनीतिमै हुनुहुन्छ जनताको बीचमै हुनुहुन्छ ।’