दार्चुला, १० साउन/लेकम गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ । स्थापनाकालदेखिको खर्च विवरण सार्वजनिक गर्न ुपर्ने सहित विभिन्न १० बुँदे मागहरु राख्दै असन्तुष्ट बनेका स्थानीयले तालाबन्दी गरेका छन् ।
स्थानीय सरकार सञ्चालन भएदेखि हालसम्मको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने, राहत वितरणको विवरण सार्वजनिक गर्नु पर्ने, सम्पूर्ण योजनाको पारदर्शीता हुनुपर्ने, चमेलिया लिप्टीङ खानेपानी आयोजनाको दुई वर्षसम्म समिति गठन हुन नसक्नुको कारण खुलाउनु पर्ने, चमेलियाको डिपिआर नगरेरै बजेट भुक्तानी हुनुको कारण स्पष्ट पार्नुपर्ने लगायत मागहरु राखिएका छन् ।
यस्तै विपद व्यवस्थापनको लागि उद्धार सामाग्रीहरु बाटैबाटो गैर कानुनी ढंगले वितरण गरिएको, सेवाग्राहीले समयमै सेवा नपाएको, नियमसंगत कागजात उपलब्ध गराउन अटेर गरेको, उपभोक्ता समितिमा प्रतक्ष उपयोग गर्ने व्यक्तिहरु नपरेको विषयमा जवाफ माग गरिएको छ ।
आर्थिक वर्ष २०७३ देखि हालसम्मको सामाजिक सुरक्षा भत्ताको विवरण, कर्मचारी भर्ना प्रकृया तथा तलब भत्ताको स्रोत खुलाउनुपर्ने सहित दश बुदे मागहरु राखिएको स्थानीय महेश बिष्टले जानकारी दिएका छन् ।
गत असार २१ गते विभिन्न मागहरु राखेर २४ गतेसम्म माग सम्बोधन गर्न विज्ञप्ती पत्र दिएपनि २४ गतेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै पहिरोपटक तालाबन्दी गरिएको थियो ।
आर्थिक वर्षको अन्त्यमा भएकोले योजना कार्यक्रमको कामकाज प्रभावित हुने र तथ्याङक सार्वजनिक गर्न केही समय आवश्यक पर्ने भन्दै वडाले साउन ९ गतेसम्मको समय माग गरेपछि आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको थियो ।
साउन ९ गते शुक्रबार समेत वडा कार्यालयको तर्फबाट उल्लेखित बुदाहरुमा चित्तबुझ्दो जवाफ नपाएको र केही बुँदामा माग गरिएको तथ्याङ्क पूरा नखुलाएको भन्दै स्थानीयहरुले शुक्रबार राती साढे १० बजेपछि तालाबन्दी गरेको स्थानीय राजेश जोशीले बताए ।
वडा अध्यक्ष भवानसिंह धामीले भने वडासंग सम्बन्धित सबै विषयमा जानकारी सार्वजनिक गरिसकेको भए पनि गाउँपालिका र अरु निकायसंग सरोकार भएका विषयहरुमा वडाले सबै कुरा जानकारी गराउन नसक्ने बताए ।
उनले गैर कानुनी ढंगले कुनै पनि काम नगरेको र कर्मचारीहरुलाई समेत आवश्यकताको आधारमा राखिएको स्पष्ट पारिएको छ । गैरकानुनी ढंगले कुनैपनि कर्मचारीलाई तलब भत्ता नदिइएको जनप्रतिनिधिहरुको भनाई छ ।
गाउँपालिकाबाट समेत डिपिआर तयार भइसकेको जानकारी आएकोले चमेलिया लिप्टीङ खानेपानी आयोजनाको भुक्तानी सिफारिस गरिएको वडा सदस्य पदमराज जोशीले बताए ।
विगतदेखि जनताको आवश्यकताकै आधारमा योजना कार्यक्रमहरु सञ्चालन भइरेको उल्लेख गर्दै वडा सदस्य जोशीले चालु आर्थिक वर्षमा कृषि र स्वरोजगारीको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।