झापा: निर्माण कम्पनीको लापरबाहीले झापाको भद्रपुरमा तीन जना बालकको डुबेर मृत्यु भएको छ। तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ।
भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको डिएसपी थापाले जानकारी दिए। मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए।
प्रहरीका अनुसार बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न तीनै जना बालक पौडी खेल्न र सँगै माछा मार्न गएका थिए। घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि उनीहरूको आफन्तजनले खोजी गरेका थिए। खोजी गर्ने क्रममा बुधबार साँझ ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो। पोखरीमा बालक तामाङको शव मात्र फेला परेपछि अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी सुरु गरे।
खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका विपतका प्रहरी टोलीले बिहीबार बिहान थामी दाजु भाइको शव त्यही पोखरीबाट फेला पारेको डिएसपी थापाले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको बताइएको छ।