काठमाडौँ — बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका घाइतेको उपचार सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले घाइतेको उपचार खर्च र अपांगता भएकालाई यथोचित प्रबन्ध गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा प्राकृतिक प्रकोपबाट क्षतिको विवरण संकलन भइरहेको र सरकारले त्यसैका आधारमा राहत दिने निर्णय भएको पनि जानकारी दिए । घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने । घाइतेहरूको उपचारमा कुनै कमीकमजोरी हुन नदिने । घाइते भई अपांग तथा अशक्त हुनेहरू र मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय भएको छ,खतिवडाले भने ।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयको समन्वयमा विपद्बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्न, मूल्यांकन गर्ने, तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसेकपछि पुनस्स्थापना तथा पुनस्निर्माणलगायतका आवश्यक विषयका लागि व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
बाढी र पहिलो प्रभावित क्षेत्रमा यातायत, विद्युत्, खानेपानी लगायतका सेवा सुविधालाई पुनर्स्थापना गर्नका लागि रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय गरेर आवश्यक कदम चाल्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा संक्रामक रोगहरू फैलिन नदिनका लागि आवश्यक सतर्कता अपनाउन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने पनि सरकारले निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
मुलुकका विभिन्न क्षेत्रमा गएको बाढी र पहिरोका कारण जनधनको क्षति भएको छ ।
