महेन्द्रनगर । सामुदायिक वनका पदाधिकारीसहित स्थानीयले गरेको बगर अतिक्रमण खाली गर्न सवडिभिजन वन कार्यालय बाणीले निर्देशन दिएको छ । कृष्णपुर नगरपालिका–१ पुतली बजारको पश्चिमतर्फ ऐश्वर्या सामुदायिक वनका पदाधिकारी र स्थानीयले अतिक्रमण गरेको ५० विघा बगर क्षेत्र खाली गर्न वन कार्यालयले निर्देशन दिएको हो ।
अतिक्रमण गरिएको बगर क्षेत्रलाई खाली गरि संरक्षण गर्न ऐश्वर्या सामुदायिक वनलाई निर्देशन दिएको सवडिभिजन वन कार्यालय बाणीका रेन्जर दुर्गेश धामीले बताए । उनका अनुसार सामुदायिक वनलाई ७ दिनभित्र अतिक्रमण गरिएको बगर खाली गरि संरक्षण गर्न भनिएको छ ।
‘हामीले अतिक्रमण गरेको बगरको स्थलगत अनुगमन ग(यौं,’ उनले भने, ‘त्यहाँ अतिक्रमण भएकै छ, त्यो अतिक्रमण गरिएको बगरको संरक्षण गर्न वनका पदाधिकारीलाई निर्देशन दिएका छौं ।’
सामुदायिक वनसँगै जोडिएको बगर भएकाले संरक्षणको प्रमुख जिम्मेवारी सामुदायिक वनको हुने बताउँदै रेन्जर धामीले संरक्षण गर्न वनलाई भनिएको बताए । ‘सामुदायिक वनलाई अतिक्रमित क्षेत्र खाली गर्न ७ दिनको समय दिएका छौं,’ उनले भने, ‘सामुदायिक वनले ७ दिनभित्र बगर खाली गरि संरक्षण नगरे वन कार्यालयले कारबाही अगाडी बढाउने छ ।’
वन कार्यालय दिएको समयभित्र सामुदायिक वनका पदाधिकारी बगर संरक्षण नगरे वन ऐन २०७६ अनुसार मुद्दा दर्ता गरि कारबाही गरिने रेन्जर धामी बताउँछन् । ‘वनका पदाधिकारीले ७ दिनभित्र अतिक्रमित बगरको संरक्षण गरि सक्नुपर्छ,’ उनले भने, ‘संरक्षण गरेन भने वन अतिक्रमण गर्नेहरुबिरुद्ध किटानी उजुरी वन कार्यालयलाई दिनुपर्छ ।’
बगर अतिक्रमण गरि निर्माण गरेका संरचना भत्काउन समेत निर्देशन दिएको उनको भनाई छ । ‘वनका दिाधिकारी र उपभोक्ताई बगरमा निर्माण गरेका घर तथा टहरा आइतबार नै भत्काउन भनेका छौं’, उनले भने, ‘आइतबार निर्माण गरेका टहरा भत्काएन भने २र३ दिनमा वनको टोली गएर भत्काउँछ ।’
सामुदायिक वन कार्यालयले दिएको किटानीको आधारमा अतिक्रमणकारीलाई कारबाही गरिने रेन्जर धामी बताउँछन् । ‘अतिक्रमण गर्नेहरु बिरुद्ध सामुदायिक वनले किटानी जाहेरी दिन्छ,’ उनले भने, ‘त्यसैको आधारमा कारबाही प्रक्रिया अगाडी बढ्छ ।’
सामुदायिक वनका पदाधिकारी र स्थानीयले गरेको अतिक्रमण खाली गरिने सामुदायिक वनका अध्यक्ष इन्द्र बुढाले बताए । ‘मैले पनि बगरमा ढुंगा राखेको छु, सोमबारसम्म बगरमा राखेको ढुंगा हटाएर अतिक्रमित बगरको संरक्षणको कार्य सुरु गर्छौ,’ उनले भने, ‘सबै अतिक्रमित बगर खाली गरि संरक्षण गर्छौ ।’
सामुदायिक वनका सहसचिव सोभान कार्कीले बगर अतिक्रमण गरेपछि स्थानीयले पनि बगर अतिक्रमण गरेको उनको भनाई छ । ‘पहिले स्थानीयले बगर अतिक्रमण गरेको थिएन्,’ उनले भने, ‘केही महिना अगाडी सहसचिव कार्कीले बगर अतिक्रमण गरेर खनजोत गरेपछि अतिक्रमण तीब्र रुपमा भयो ।’
वनकै पदाधिकारीले बगर अतिक्रमण गरेपछि स्थानीयले पनि बगर अतिक्रमण गर्ने मौका पाएको अध्यक्ष बुढा बताउँछन् । ‘सहसचिव कार्कीले बगर अतिक्रमण गरेपछि स्थानीले पनि अतिक्रमण ग(यो’, उनले भने, ‘सहसचिवको बदमासीका कारण आज यस्तो भयो ।’
कृष्णपुर नगरपालिका–१ पुतली बजरको पश्चिमतर्फ रहेको बगर एश्वर्या सामुदायिक वनका पदाधिकारी अध्यक्ष इन्द्र बुढा र सहसचिवको कार्कीको संलग्नतामा भएको स्थानीयले बताए । स्थानीयका अनुसार २ महिनामा वनका पदाधिकारी र स्थानीयले ५० विघा बढी बगर क्षेत्र अतिक्रमण गरेका छन् ।