कञ्चनपुरको भीमदत्त नगरपालिका, उल्खाटामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुग्न लागेको छ । १० साउन ०७५ मा साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी उनको ११ साउनमा उखुबारीमा शव फेला परेको थियो ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन कयौं समिति बने, सयौं शंकास्पदसँग प्रहरीले बयान लियो, कयौंले हिरासतमा रात बिताए । तर, हात लाग्यो शुन्य १
घटनाको अनुसन्धानका लागि प्रहरीले परिचालन गरेका विभिन्न टोलीकै निष्कर्षमा एकरुपता आउन नसकेको अवस्थाले घटनालाई रहस्यमय बनाइरहेको छ । प्रहरीका थरीथरीका निष्कर्ष र फरकफरक छानबिन प्रतिवेदनकै घनचक्करमा अझै पनि निर्मला हत्याकाण्डको रहस्य रुमल्लिरहेको अवस्था छ ।
त्यो अन्तिम प्रतिवेदन
तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले लामो छानबिन गरेर ३ पुस ०७५ मा रिपोर्ट बुझायो । सो रिपोर्टले सुरुवाती अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक ९डीएसपी० अंगुर जिसीसहितका प्रहरीले गल्ती गरेको निष्कर्ष निकाल्दै थप कारावाही गर्न सुझायो ।
बस्न्यात समितिको निष्कर्ष थियो– निर्मला प्रकरणमा सबै गल्ती अनुसन्धानमा संलग्न प्रहरीको मात्रै थियो । बस्न्यात समितिले हवल्दार धर्मसिंह भाटलाई तीन महिनासम्म सामाखुसीस्थित पहरा गणमा थुनेर टर्चर दिएको तथ्य बाहिरियो । त्यसपछि बस्न्यात समितिको प्रतिवेदनमाथि प्रश्न उठ्यो ।
अनि, अरु दुईवटा समिति बने । गृह मन्त्रालयले डिएनए विज्ञ जीवन रिजाल नेतृत्वमा एउटा समिति बनायो । प्रहरी प्रधान कार्यालयले तत्कालीन प्रहरी नायब महानिरीक्षक ९डीआईजी० सुरज केसीको नेतृत्वमा छुट्टै पुनरावलोकन समिति गठन ग¥यो ।
जीवन रिजाल नेतृत्वको समितिले निर्मलाको भेजिनल स्वाबको गुणस्तरमै प्रश्न गर्दै डिएनए परीक्षण विधिबाट हत्यारा पत्ता नलाग्ने प्रतिवेदन दिएको छ ।

तत्कालीन डीआईजी केसी नेतृत्वको पुनरावलोकन समितिले धिरु बस्न्यात समितिको प्रतिवेदन गलत भएको निष्कर्ष निकाल्यो ।
सोही निष्कर्षको आधारमा प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई पत्र लेखेर भनेको छ, ‘धिरु बस्न्यात नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्नु ।’
पछिल्ला दुई प्रतिवेदन र अनुसन्धानमा संलग्न अधिकृतहरुको निष्कर्षका आधारमा प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गर्न खोजे पनि सरकारी वकिलको कार्यालयले विष्टका बारेमा पर्याप्त प्रमाण नपुगेको निष्कर्षसहित मुद्दा दायर गर्न मानेको छैन ।
प्रहरीको एउटा टोली निर्मलाको बलात्कार र हत्यामा दिलिप विष्टकै संलग्नता रहेको दावी गरिरहेको अवस्था छ । तर, प्रहरीकै केही उच्च अधिकारी र उक्त घटनाको अनुसन्धानमा जोडिएका केही अधिकृत भने दिलिप विष्टबाट उक्त घटना भएको हो भनेर पुष्टि हुने भरपर्दो आधार नभएको बताउँछन् ।
भरपर्दो प्रमाणको अभावमा उनको मानसिक र शारीरिक अवस्थाले पनि बलात्कार तथा हत्यामा उनको संलग्नता रहेको भनेर किटान गर्न नसकिने प्रहरीको एउटा पक्षको तर्क छ ।
प्रहरी नेतृत्वसामु चुनौती
सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक (आईजीपी)नियुक्त भएको तीन महिनापछि निर्मला पन्तको हत्या भयो । खनालको करिब दुई वर्षे कार्यकालमा निर्मला प्रकरण सर्वाधिक विवादास्पद बन्यो । यतिमात्र होइन, उनको नेतृत्वको असफलता केलाउनुपर्दा निर्मला हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसक्नु अग्रपंक्तिमै पर्दछ ।
आफ्नो दुई वर्षे कार्यकालमा खनालले सर्वाधिक समय दिनुपरेको र धेरै टाउको दुखाउनु परेको प्रकरण पनि निर्मला हत्याकाण्ड नै थियो । निर्मला प्रकरणमा प्रहरीको नियत, क्षमता र इमानमा सर्वाधिक प्रश्न उठ्यो ।
आफ्नो कार्यकालमा निर्मला प्रकरण ‘अनसोल्भड मिस्ट्री’ नबनोस्, प्रहरीको निधारमा कलंक नबनोस् भनेर उनले अवकाश अघि यो हत्याकाण्ड सल्टाउने अन्तिम प्रयास गरे । तर, सफलता हात लागेन ।
‘निर्मलाका हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउँछु भन्ने अठोट थियो,’ अवकाश प्राप्त आईजीपी खनालले रातोपाटीसँग भने, ‘त्यसका लागि अन्तिम समयसम्म प्रयास चाहिँ गरिरहेँ ।’
खनालपछि प्रहरी महानिरीक्षक बनेका ठाकुर ज्ञवाली तिनै अधिकृत हुन्, जो लामो समय कञ्चनपुरमा बसेर निर्मला हत्या प्रकरणमा अनुसन्धान गरेका थिए । तर, ज्ञवालीको पाँच महिने कार्यकालमा निर्मला हत्याकाण्ड अनुसन्धान परिणाम देखिने गरी अगाडि बढेन ।
खनाल र ज्ञवालीको कार्यकलमा ‘अनसोल्भड मिस्ट्री’बनेको निर्मला हत्याकाण्ड टुंग्याउने जिम्मा अन्ततः प्रहरी महानिरीक्षक शैलेस थापा क्षत्रीको काँधमा आएको छ । प्रहरी करिअरमा ‘बेदाग छवि’ बनाएका उनीसामु निर्मलाको बलात्कार–हत्यामा संलग्न आरोपीलाई कानुनी दायरामा ल्याउने मुख्य चुनौती छ ।