हामी यतिसम्म देखासिकी गर्छौ कि हामीलाई साउनमा अरुले हरियो चुरा पोते लगाएको देखेपछि आफूले पनि लगाउन कुदिहाल्छौं । जुन कुराको हामीलाई आवश्यकता र महत्व पनि थाहा हुँदैन ।
आज साउन १ अर्थात् साउने संक्रान्ति । आजको दिनलाई लुतो फाल्ने दिनका रुपमा बढि चिनिन्छ । साउन महिनालाई भगवान शिवजीको प्रिय महिना भनिन्छ । यही साउन महिनादेखि चर्तुमासको प्रारम्भ हुने गर्दछ । साउन महिना आफैंमा पनि हरियाली महिना हो ।
केही वर्ष यता साउन लाग्नासाथ नेपाली हिन्दु नारीहरु हरियो चुरा पोते मेहेन्दीमा सजिने गर्छन् । यस महिनामा नेपाली हिन्दु नारीहरु भगवान शिवजीको पुजा आरधाना तथा व्रत बस्ने गर्छन् । यसरी शिवजीको पुजा आरधाना गर्दा विवाहित नारीका पतिको आयु बढ्ने, अविवाहित युवतीले असल वर पाउँछन् भन्ने विश्वास रहिआएको छ । विशेषगरी नेपाली हिन्दु नारीहरु साउमा सोमवारे व्रत बस्ने गर्छन् । साउन लाग्नासाथ बजारमा जता ततै हरियो चुरा, पोते तथा मेहेन्दीको व्यापार हुने गर्छ । पुजा आरधाना तथा हाम्रो संस्कृति आफैंमा राम्रो पक्ष भएपनि विगत केही वर्ष यता नेपाली नारीहरुमा देखासिकी गर्ने चलन बढ्दै आएको छ ।
पुजा आरधना तथा व्रत बस्नु कुनै नराम्रो कुरा होइन यसले मानिसको स्वास्थ्य र दिमाग दुवैलाई सकारात्मक बनाउने गर्छ । तर, पुजा आरधना गर्ने भन्दैमा स्वास्थ्यमा असर पर्ने गरी कतिपय महिलाहरु निराहार भई व्रत बसेको देखिन्छ । शिवजीको मन्दिरमा लाइन बस्दा–बस्दै ढलेको पनि देखिन्छ । आफ्नो स्वास्थ्यलाई असर पर्ने गरी व्रतको औचित्य कति रु कतिपय महिलाहरु घाम पानीको प्रवाह नगरी साना बालबालिका लिएर मन्दिरमा घण्टौ लाइन लाग्ने गर्छन् । ती बच्चाहरु भोक, गर्मीका कारण रोइरहेको दृश्यले पतिको आयु बढाउला रु भन्ने प्रश्न उब्जाई रहन्छ र, यो कस्तो खालको धर्म हो रु भन्ने स्वभाविक रुपमा जो कोही अनुमान गर्न सक्छ । हिन्दु धर्म अनुसार भगवान शिवजीको पुजा आरधाना गर्दा पतिको आयु लामो हुने जनविस्वास छ तर, हाम्रै समाजमा घरेलु हिंसा दिनदिनै भइरहेका हुन्छन कि त्यस्ता पतिको लामो आयुका लागि के ढोंग गर्नु रु एउटी महिला तब मात्र सौभाग्यवती बन्छिन् जब उनी समाजमा स्वतन्त्र भएर जीउन सक्छिन । कतिपय श्रीमानबाट दिनदिनै पीडित महिलाहरु पतिकै लागि भनेर ब्रत बस्नु आफैंमा हाँस्यास्पद कुरा हो ।
यहाँनिर पत्थरलाई मानव निर्मित भगवानलाई पुजा गरेर होइन आफ्ना लागि सम्बन्धित ठाउँमा समानताको न्याय माग्नु आवश्यक हो । हामी २१औं शताब्दीमा आइपुग्दा महिलाहरुले सोंच्ने स्थितिमा परिवर्तन भने जहाँको त्यहीँ छ । हामी धर्ममा विश्वास होइन् अन्धविश्वासमा बढि विश्वास गर्छौं । हामी भगवानको भक्ति होइन अन्धभक्त छौं । धर्मले हामीलाई राम्रो मार्गमा बढ्न प्रेरणा दिन्छ । तर धर्ममा कतिपय यस्ता कुरा छन् जसमा लिङ्गको आधारमा भेदभाव गरिएको छ । त्यस्ता कुरालाई हामीले बुझ्नु भन्दा त्यसैलाई बढवा दिने काममा हामी बढि अग्रसर देखिन्छौं । आफ्नो धर्म संस्कृति एउटा अनुशासनको माध्यम हो ।
त्यसका असल पक्षलाई जोगाउनु र निरन्तरता दिनुमा कसैमा फरक मत नरहला । तर यतिबेला समाजमा बढ्दै गएको नकरात्मक भडकिलो, फजुल, देखावती संस्कृतिकको विरुद्ध भने आवाज उठाउनु पर्छ । जसले भावी पुस्ताका लागि सही मार्ग पहिल्याओस् । समय र चेतना अनुसार त्यसलाई परिष्कृत गर्दै पनि त लैजानु पर्यो । हामी यतिसम्म देखासिकी गर्छौ कि हामीलाई साउनमा अरुले हरियो चुरा पोते लगाएको देखेपछि आफूले पनि लगाउन कुदिहाल्छौं । जुन कुराको हामीलाई आवश्यकता र महत्व पनि थाहा हुँदैन । आज बिहानै मेरो एकजना साथीले भिडीयो कल गरेर सोधिन हरियो चुरा लगायौ भनेर रु ‘किन लगाउनै पर्छ र रु’, उनलाई जवाफ दिएँ । उनले प्रतिप्रश्न गर्दै गिज्याएको स्वरमा भनिन्– ‘सबैले लगाएका छन् तिमी के भाको हो र ?’ अब भन्नुस् हामी नेपाली महिलाहरु कतिसम्म देखासिकीमा अल्झेका छौं रु हामीलाई हाम्रो भविष्यको भन्दा समाजको चिन्ता छ । एउटा कुरा हामी सबैले बुझ्नु पर्ने के छ भने तपाईंले धर्म गर्नका लागि मन्दिरमै लाईन लाग्नु पर्ने व्रत नै बस्नु पर्ने भन्ने छैन ।
तपार्इंको मनमा दुःखी गरिबका लागि दया, असल मान्छेका लागि सम्मान, आवश्यकता परेका बेला सहयोगी भावना भयो भने भगवान त्यही प्राप्त गर्नसक्नु हुन्छ । धर्म मानिसलाई नियममा बाध्ने सूत्र हो जसले हामीलाई नराम्रो काम गर्नबाट रोक्छ र सत्मार्गमा हिड्न प्रेरित गर्छ । हामी, समाजमा के चलेको छ रु के गर्ने रु समाजले के भन्ला भन्ने कुरा मै अड्केका छौं । मैले धर्म संस्कृति मान्नेहरुलाई नकारात्मक भन्न खाजेको पक्कै होइन । तपाईंलाई ठीक लागेको कुरा गर्न पाउने स्वतन्त्रता तपाईंमा निर्भर हुन्छ । तर यसो भन्दैमा अरुलाई पनि त्यसमै धकेल्न खोज्नु हुँदैन भन्ने मत भने जरुर हो । संसार कहाँ पुगिसक्यो, महिलाहरु कस्तो पदमा पुगिसके रु हामी भने धर्मको नाममा मन्दिरकै लाइनमा छौं । आफ्नै देशमा महिला राष्ट्रपती हुनुहुन्छ ।
तर, हामी आफूलाई खाली चुरा र पोतेमा बाँधिरहेका छौं । यहाँनिर मैल साउन महिनासँग जोडेर नेपाली महिलाहरुले धर्मका नाममा गर्ने आडब्मर उजागर गर्न खोजेकी हुँ । तपाईं जति नै व्रत बसे पनि यदि तपाईं आफूमा सक्षम हुनु भएन भने तपाईंका श्रीमान राक्षस बनेर निस्किन्छन् । यदि तपार्इंमा आत्मबल, आत्मविश्वास र अन्यायसँग लड्न सक्ने क्षमता छ भने मात्र तपाईंका पति तपाईंकै लागि भगवान बन्न सक्छन् । आज समाजमा दिन दिनै घरेलु हिंसाका समाचार देख्न र सुन्न पाइन्छ के ती सबै धर्म नगरेका कारण हुन् त रु पक्कै होइनन् होला । यसो भन्दैमा धर्म नगर्नुस् भनेको होइन ।
तपाईंलाई मन लागेको गर्नुस् मन्दिरमा घण्टौ लाइनमा पनि बस्नुस् तर जीउ ज्यान फालेर धर्मको पछाडि लाग्नु भन्दा आफ्नो भविष्यको चिन्तामा लाग्नुस् । तपाईंलाई कुनै हिंसा भएको छ भने ढुंगाको मुर्तिले न्याय दिंदैन । अहिले २१औं शताब्दीको यस्तो शिक्षित समाजमा पनि हामी भगवान भरोसा बस्नु कतिसम्म लाजमर्दो कुरा हो ।
(लेखक भण्डारी तिलोत्तमा एफएमकी प्रबन्ध निर्देशक हुन् ।)