काठमाडौं । सशस्त्र प्रहरी बलले कम्तीमा दश हजार नयाँ दरबन्दी थप्नुपर्ने अनौपचारिक प्रस्ताव सरकारसँग गरेको छ।सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) पाँच सय ३७ पु¥याउने सरकारको योजनासँगै सशस्त्रले यस्तो प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
अहिले सीमा क्षेत्रमा सशस्त्रका एक सय ३८ बिओपी छन् । आगामी आर्थिक वर्षभित्र थप ८३ स्थानमा बिओपी राख्ने सशस्त्रको तयारी छ । अहिलेकै जनशक्तिबाट ती बिओपी स्थापना गरिनेछन् । तर, बाँकी तीन सय १६ बिओपीका लागि जनशक्ति थप्नुपर्ने सशस्त्रको प्रस्ताव छ । भारतसँग जोडिएको नेपालको सिमाना एक हजार आठ सय ८० किलोमिटर छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले साढे दुई किलोमिटरको फरकमा बिओपी राखेको छ । एसएसबीकै हाराहारीमा नसकिए पनि साढे तीन किलोमिटरको फरकमा एउटा बिओपी राख्ने नेपाल सरकारको योजना छ ।
यसका लागि पाँच सय ३७ बिओपी स्थापना गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा बिओपीमा ३५ देखि ५० सुरक्षाकर्मी राख्नुपर्छ । ३५ सुरक्षाकर्मी मात्रै खटाउँदा पनि तीन सय १६ बिओपीमा ११ हजार ६० जनशक्ति चाहिन्छ । यही आकलन गरेर सशस्त्रले जनशक्ति थप्नुपर्ने प्रस्ताव गरेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिओपी दुई सय २१ बाट बढाउँदा सशस्त्रको जनशक्तिमा पनि पुनर्विचार गर्नुपर्ने बताए ।
‘आगामी वर्ष दुई सय २१ स्थानमा बिओपी राखिसक्ने योजना छ । सशस्त्रको अहिलेकै जनशक्तिबाट त्यो हुन्छ । त्यसबाहेक थप बिओपी स्थापना गर्दा जनशक्तिमा पुनर्विचार गर्न आवश्यक छ । यो विषयमा छलफल चलिरहेको छ, तर कुनै औपचारिक निर्णय भइसकेको छैन,’ उनले भने । सशस्त्र प्रहरीका अनुसार अहिले रहेका एक सय ३८ बिओपीमध्ये चारवटा उत्तरी सीमा क्षेत्रमा छन् । बाँकी एक सय ३४ पूर्वी, दक्षिण र पश्चिमी सीमा क्षेत्रमा छन् । ३० मंसिरपछि मात्रै ३१ बिओपी थपिएका छन् । थप ८३ बिओपी स्थापनाका लागि आवश्यक जनशक्ति मिलानको प्रयास भइरहेको सशस्त्रले जनाएको छ ।