कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ५ स्थित पूर्वपश्चिम राजमार्गमा से ५ प २१४४ नम्वरको मोटरसाईकल र म १ प ७५५७ नम्वरको मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार म १ प ७५५७ नम्वरको मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिका वडा नम्वर ४ का ६० बर्षीय पदमराज भट्टको मृत्यु भएको छ।
सोही मोटरसाईकलका चालक राजेन्द्र भट्ट पनि गम्भिर घाईते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले बताए।
उनका अनुसार से ५ प २१४४ नम्वरको मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिकाकी देवकी ठगुन्ना पनि घाईते भएकी छिन्। उनको धनगढीमा उपचार भईरहेको छ भने सोही मोटरसाईकलका चालक धनवहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।