घनगढी, ३० असार
धनगढी उप–महानगरपालिका , महिला तथा वालबालिका शाखाले अपाङ्गता भएका र बिपन्न महिलाका लागि संचालन गरेको ६ महिने कटाई सिलाई तालिम मंगलबार सम्पन्न भएको छ ।
अपाङ्गता भएका र बिपन्न महिलाहरुको मागका आधारमा धनगढीमा एडभान्स तहको कटाई सिलाई तालिम संचालन गरेको उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन ।

तालिममा सहभागिहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै उप–प्रमुख भट्टले यो तालिम अपाङ्गता भएका र बिपन्नहरुको जिवनस्तर माथी उठाउनका लागि संचालन गरिएको बताईन । तपाईहरुले यो तालिमबाट धेरै कुरा सिक्नु भएको छ उप–प्रमुख भट्टले भनिन् , सिकेको कुरालाई ब्यावहारमा उतार्नु होला । सिकाई निरन्तर भैरहने प्रकृया हो त्यसैले सिक्ने कुरा कहिल्यै पूर्ण हुदैन । तालिममा ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई सिलाई मेसिन पनि उपलब्ध गराईएको थियो ।
