सल्यान
९, आषाढ ।
सल्यानका सरकारी कार्यालय खुले पनि कार्यालयमा कर्मचारी बाहेक अरु कोहि पनि भेटिदैनन् । सरकारले करीब ३ महिनापछि आंशिक रूपमा लकडाउन खोले पनि कार्यालयमा सेवाग्राही भने आएका छैनन् । असार १ गतेदेखि जिल्लामा रहेका सबै कार्यालय खुलेका छन् । तर सेवाग्राहि भने सेवा लिनको लागि आएको भेटिएका छैनन् ।
अहिले सम्म सल्यानका सबै सरकारी कार्यालयहरुमा कर्मचारी बाहेक अरु कोहि पनि भेटिदैनन् । जिल्लाको सबै भन्दा बढी सेवाग्राहीको चाप हुने मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय विद्युत् कार्यालयमा अझै पनि सेवाग्राहिहरु सेवा लिनको लागि आएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी नारायण लामिछानेले लामो समयपछि कार्यालय खुल्दा सेवाग्राहीको चाप बढ्ने अनुमान गरिए पनि त्यस्तो नभएको बताएका छन् । ‘पहिलो दिनदेखि नै सेवाग्राहीको चाप बढ्ने अपेक्षा थियो,’ उनले भने ‘तर सेवाग्राहीको उपस्थिति पहिलेको तुलनामा एकदम कम छ ।’
पछिल्लो समयमा कोरोनाको जोखिमका कारणले गर्दा सेवाग्राहिहरु कम आउने गरेको उनको भनाई छ । अहिले सरकारले गरेको आंशिक लकडाउन, सवारीसाधनमा जोर बिजोर प्रणाली र सार्वजनिक यातायात नचलेकाले पनि टाढाका सेवाग्राही आउन नसकेको उनले बताए । सरकारले कोरोना सुरक्षा मापदण्ड र भौतिक दूरी अपनाउन सरकारी कार्यालयहरूमा दुई चरणमा कार्यालय खोल्न निर्देशन दिएको भएपनि अहिले सम्म सेवाग्राहिहरु सेवा लिनको लागि आउन सकिरहेका छैनन् ।