सर्वोच्च अदालतले लकडाउन पूर्ण रूपमा खुलेको १ महिनापछि कर बुझाउनको लागि व्यवसायीलाई बाटो खुला राखे पनि असार लागेसँगै कर बुझाउनको संख्या बढेको छ । चैत महिनापछि अवरुद्ध कर जेठ अन्तिम साताबाट दाखिला बढेको छ । असारमा मात्रै करिब १८ अर्ब रुपैयाँ बराबरको राजस्व उठेको छ ।
महालेखा नियन्त्र कार्यालयका अनुसार कात्तिक, चैत र असार मसान्तको दिनबाहेक अन्य दिनको औषत राजस्व करिब २ अर्ब रुपैयाँ हो । तर, शुक्रबार मात्रै ७ अर्ब रुपैयाँ बढीको राजस्व दाखिला भएको छ । सरकारकी खर्चको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले शुक्रबार ५ अर्ब ५३ करोड रुपैयाँको राजस्व उठेको जनाएको छ ।
तर, ठूला करदाता कार्यालयको तथ्यांकअनुसार शुक्रबार यो कार्यालयले मात्रै ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ । अन्य कार्यालयहरूबाट समेत गरी शुक्रबार ७ अर्ब रुपैयाँ बढीको राजस्व उठे पनि चेकहरू कलेक्सन नभएको कारणले गर्दा कलेक्सन भएको चेकको विवरण मात्रै महालेखाले राख्ने गर्छ ।
ुकतिपय चेकहरू कलेक्सन गर्न बाँकी रहेको र राष्ट्र बैंकले अर्को दिन कलेक्सन गरिदिने भएको कारणले वास्विक विरण नआएको हुनसक्छ । शुक्रबार ठूला करदाता कार्यालयबाट मात्रै साढे ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छु ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले भने, ुशनिबार पनि स्वेच्छाले कर संकलन भइरहेको छ ।ु
सरकारले चैतदेखि रोकिँदै आएको राजस्व असार ७ गतेभित्र र आयकर असार १५ गतेभित्र बुझाउनको लागि ताकेता गरेको थियो । तर, २८ जेठको सर्वोच्च अदालतको अन्तरमि आदेशले लकडाउन पूर्ण रूपले खुलेको १ महिनासम्म यस्तो सुविधा दिनको लागि सरकारको नाममा आदेश जारी गरेको थियो ।
सरकारले दिएको मिति नजिकिदै गर्दा राजस्व बुझाउनेहरूको संख्या बढेको छ । सरकारले अनौपचारिक रूपमा ठूला घरानाहरूलाई ताकेतासमेत गरेको छ । शुक्रबारसम्म बैंक तथा वित्तीय संस्था र दूरसञ्चार कम्पनीहरूले कर बुझाइसकेको ठूला करदाता कार्यालयले जनाएको छ ।
पछिल्लो ५ दिनमा वैदेशिक अनुदानसमेत गरी १९ अर्ब बढीको आम्दानी गरेको छ । जसमा ३ असारमा सरकारले थप १ अर्ब १९ करोड ४७ लाख रुपैयाँको वैदेशिक अनुदान प्राप्त गरेको छ । सरकारले चालू आर्थिक वर्षमा ५७ अर्ब रुपैयाँको वैदेशिक अनुदानको लक्ष्य राखेकोमा ११ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने संशोधित अनुमानअनुसार ३३ अर्ब रुपैयाँको अनुदान आउने छ ।
असारको ५ दिनको अवधिमा करिब साढे १७ अर्ब रुपैयाँको राजस्व मात्रै उठेको छ । तर, यही समयमा सरकारको खर्च भने १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको भएको छ ।
विगतका वर्षहरूमा असार महिनामा आम्दानी तुलनामा खर्च ४ गुणासम्म बढी हुने गरेको थियो भने चालू खर्चको तुलनामा असार महिनामा पुँगीजत खर्च २ गुणासम्म बढी हुने गरेको थियो । चालू आर्थिक वर्षको पछिल्लो ३ महिना राजस्वमा देखिएको चाप र लकडाउनका कारणले सरकारका काम पनि रोकिएको अवस्थामा असारमा खर्चभन्दा आम्दानी बढी देखिएको छ ।
महालेखा नियन्त्रको कार्यालयको तथ्यांकअनुसार पछिल्लो ५ दिनमा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै पुँजीगत खर्च भएको छ । यही समयमा चालू खर्च भने १२ अर्ब २ करोड ७५ लाख रुपैयाँको भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा ९ खर्ब ५७ अर्ब रुपैयाँको चालू खर्च गर्ने लक्ष्य राखेकोमा हालम्म ७१ प्रतिशत खर्च गरेको छ भने ४ खर्ब ८ अर्बको पुँजीगत खर्चको लक्ष्यमा हालमसम्म ३१ प्रतिशत खर्च गरेको छ । ११ खर्ब १२ अर्ब रुपैयाँको राजस्व लक्ष्यमा हालसम्म ५९ प्रतिशत मात्रै राजस्व उठेको छ ।
वैदेशिक सहायतासमेत गरी सरकारले ५ असारसम्म ७ खर्ब २० अर्ब रुपैयाँको आम्दानी गर्दा ८ खर्ब ९८ अर्ब रुपैयाँको खर्च गरेको छ । यस हिसाबले आम्दानीको तुलनामा खर्च १ खर्ब ७८ अर्ब रुपैयाँ बढी छ । जसमध्ये सरकारले १ खर्ब ७५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ ।