मिति ः २०७६÷१२÷२१
आदरणीय नगरवासी बुवा आमा, दाजुभाई , दिदिबहीनी
तथा सम्पूर्ण राष्ट्र सेवकहरु ।
धनगढी उप–महानगरपालिकाको हार्दिक अपिल
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ । यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरालाई बुझेर उप–महानगरको श्रोत साधनले भ्याए सम्म सतर्कताको पूर्वतयारीमा जुटेको ब्यबहोरा सादर निवेदन गर्दछौं ।
सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पुगिरहेको छ । अझैपनि उप–महानगरपालिका आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनितिकदल नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, नेपाल रेडक्रस सोसाईटी धनगढी,ब्यापारी लगायतका सामाजीक संघसंस्थाहरु संग समेत हार्दिक अपिल गर्दछौं ।
कोभिड–१९ (कोरोना भाईरस) को संक्रमणबाट जोगिन नेपाल सरकारले पुरै देश लकडाउन गरेको छ । तर पनि धनगढीमा फाटफुट सवारी चलिरहेकाले यस्तो नगर्न र पूर्ण रुपमा सरकारी निर्णयको पालना गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गर्दछौं । उप–महानगरपालिकामा आज बसेको उद्योग बाणिज्य संघ, किराना ब्यावसायी संघ, दुग्ध ब्यावसायी संघ र सरोकारवालाहरुको बैठकले चैत २२ गते देखि लागु हुने गरी (बिहान ६ बजे देखि ९ बजे ) सम्म मात्रै अती आवश्यकीय खाद्यान्न र तरकारीका पसलहरु खोल्न दिने, पसलमा आउने ग्राहकलाई न्यूनतम् ३ फिटको दुरी कायम गर्न लगाउने, होम डेलीभरी गर्ने ब्यापारीलाई समन्वयका लागि आग्रह गर्ने, सवारीहरु पूर्णरुपमा चल्न नदिने निर्णय गरेको नगरवासीमा अवगत गराउन चाहन्छौं । हामी यस जटिल अवस्थामा सहयोग गर्ने सबै सहयोगी हातहरुको उच्च सम्मान गर्दछौं । तर सहयोग गर्दा अनिवार्य रुपमा स्थानीय सरकार वा जिल्ला प्रशासन कार्यालयले अपनाएको एकद्धार प्रणालीबाट नै गर्न अनुरोध गर्दछौं ।
भारत र तेश्रो मुलुकहरुबाट फर्किएका आफ्नै परिवारको सदस्य भएपनि १४ दिन सम्म घरमा छुट्टै राख्न , रुमाल, लत्ताकपडा लगायतका बस्तुहरुबाट सजिलै भाइरस सर्नसक्ने भएकाले एक अर्कोलाई प्रयोग गर्न नदिन अनुरोध गर्दछौं । असहज अवस्थाको फाईदा उठाउदै बजारमा दैनिक उपभोग्य सामाग्री, औषधी, ग्याँस र पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुन अनुसार कडा कार्वाही गरिने ब्यहोरा अवगत गराउछौं ।
साथै कोरोनाको जोखिमबाट बच्नका लागि मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान गर्दछौं ।