बाजुरा १८ चैत- बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं.५ डोगडीका वडा अध्यक्ष हर्क वहादुर रावत द्धारा वडाबासीहरुलाई निशुल्क साबुन वितरण गरेको छ ।
विश्वभर कोरोना भाईरसको त्रास फैलिरहेको बेला पुर्व सावधानीका लागि सावुन वितरण गरेको अध्यक्ष रावतले बताएका छन् । गाउँपालिकाको केन्द्र रहेको वडा नं. ५ का ७०० घरधुरी रहेको वडामा प्रत्येक घरधुरीलाई एक एक साबुन वितरण गरी वडामा रहेका स्वास्थ्य चौकी, प्रहरी कार्यालय लगायत लाई पनि सावुन वितरण गरिएको छ ।
पहिलो चरणमा वडाका कर्मचारी जनप्रतिनीधी सहितको टोलीले विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि जनचेतना तथा प्रचार प्रसार गरेको र प्रत्येक टोल तथा बस्तीहरुमा चेतनामुलक पोस्टर तथा पम्पलेट वितरण गरेको थियो भने अहिले सावुन वितरण गरेको वडा अध्यक्ष हर्क रावतले वताएको छ ।
वडा बासीहरुलाई सुरक्षित तथा घर भित्र बस्न र साबुनपानीले हात अनिवार्य धुन घरदैलोमा गई वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गरी भारत तथा विदेशबाट आएका व्यक्तिहरुलाई होम करेन्टाईममा बस्न जानकारी गराईएको छ । भारतबाट आएका व्यक्तिहरुलाई विशेष निगरानीमा राखी वडाले लगत संकलन गरिरहेको छ । कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गरी अन्य थप सहयोग गर्नका लागि पहल गरिरहेको वडा अध्यक्ष रावतले वताएको छ ।
गाउँघरमा भारतबाट आएका व्यक्तिले गर्दा वडा बासी त्रासमा रहेकाले कसैलाई नआत्तिन अध्यक्ष रावतले आग्रह गरिरहेका छन् । वडाबासीहरु एकातिर कोरोना भाईरसको त्रास बढीरहेको र अर्काे तर्फ भोकमरी हुने कुराले चिन्तीत भईरहेका बेला वडा अध्यक्ष रावत घरदैलोमा गई मानसिक रुपमा कमजोर नहुन आग्रह गरिरहेका छन् ।
कृषि उत्पादनबाट तिन महिना भन्दा बढी खान नपुग्ने भएकाले वडामा खाद्यान्नको संकट हुन नदिनका लागि व्यापारीहरुसंग छलफल गरी आपुर्ति गर्न अध्यक्ष रावत लागि परेका छन् ।
