अत्तरिया – सुदूरपश्चिम प्रदेशको मुख्य प्रबेशद्धारमा रहेको अत्तरिया बजार भोलि देखि बन्द हुने भएको छ । स्थानियहरुको मागलाई मध्नजर गर्दै गोदावरी नगरपालिकाको कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले भोलीवाट लागूहूने गरि अत्तरिया बजारलाई बन्द गर्ने निर्णय गरेको हो ।
गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बजार क्षेत्रमा रहेका अतिआवश्यक पसलहरु बाहेकका अन्य सबै व्यवसाय भोलीदेखि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको बताए ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले अत्तरिया क्षेत्रका सरोकारबालाको बैठकले भोलिदेखि अत्तरिया बजार बन्द गर्ने निर्णय गरेको बताए । उनले अतिआवश्यक सेवा मुलक व्यवसाय खाद्यान्न, होटल, ग्यास र मेडिकल सेवा बन्द नहुने जानकारी दिए ।
विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड–१९ को संक्रमणबाट बच्न बजार व्यवसाय बन्द गरिएको अध्यक्ष देवकोटाले बताए ।
सर्वपक्षिय बैठकमा गोदावरी नगरपालिकाका जनप्रतिनिधि, अत्तरिया उद्योग बाणिज्य संघका पदाधिकारी, गोदावरी होटल व्यवसायी संघ, गोदावरी चेम्बर अफ कमर्स, अत्तरिया बजार व्यवस्थापन समिति लगायतकाको सहभागिता रहेको थियो ।