धनगढी ७ चैत- भारत र चीनका नाकाहरूबाट नेपाल फर्किने व्यक्तिहरूमा कोरोना भाइरस संक्रमणको लक्षण जाँच गर्न राखिएका ‘हेल्थ डेस्क’मा नेपाली सेनाले पनि स्वास्थ्यकर्मीसहितको टोली खटाएको छ।
काठमाडौं। भारत र चीनका नाकाहरूबाट नेपाल फर्किने व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण भएरनभएको बारे जाँच गर्न सञ्चालन गरिएका ‘हेल्थ डेस्क’मा नेपाली सेनाले स्वास्थ्यकर्मीसहितको टोली खटाएको छ।
सरकारले सञ्चालन गरेका ‘हेल्थ डेस्क’ मा नेपाली सेनाले पनि आफ्नो टोली खटाएर स्वास्थ्य जाँच गरिरहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।
नेपाली सेनाले कोरोना भाइरसको संक्रमणबाट बच्न भइरहेका प्रयास र हरेक हेल्थ डेस्कहरूको अवस्थाका बारेमा जानकारी दिन मोबाइल एप्स तयार गरिरहेको छ।
“हेल्थ डेस्कको अपडेट सबैले थाहा पाउने गरी हामीले एप्स बनाइरहेका छौं”, उनले भने,“यसबाट एकैपटक सबैतिरका नेपाली सेनाका स्वास्थ्यकर्मीहरूले अवस्थाबारे जानकारी लिन सक्नेछन्।”
उनले अहिले मोबाइल एप्स परीक्षणका क्रममा रहेको र केही दिनमै औपचारिक रूपमा त्यसबाट जानकारी लिन सकिने बताए।
४१ वटै ‘हेल्थ डेस्क’मा जाँच गरिएका व्यक्तिहरूको अवस्था कस्तो छ? उनीहरू कहाँबाट आएका हुन् ? कहाँ जाने लगायतका सबै विवरण उक्त एप्सबाट जानकारी लिन सकिने नेपाली सेनाले जनाएको छ।
नेपाल प्रवेश गर्ने मानिसहरूको स्वास्थ्य जाँच हरेक ‘हेल्थ डेस्क’बाट गरेर मात्रै पठाउने काम भइरहेको छ। अहिले उत्तरतर्फ तीन वटा र दक्षिणतर्फ ३८ वटा हेल्थ डेस्क राखिएको छ। सैनिक प्रवक्ता पाण्डेले दक्षिणतर्फ अझै ‘हेल्थ डेस्क’ थप्नुपर्ने आवश्यकता रहेको बताए।