डिस्चार्जपछि राजनीतिक भेटघाट सुरु, मन्त्रिपरिषद् बैठक बोलाउने तयारी
काठमाडौँ ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरी शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केयर रुम’मा राजनीतिक भेटघाट र परामर्श सुरु गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । लगत्तै, प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेल र आफ्नो सचिवालयका सदस्यसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीले शनिबार राति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पनि भेटेका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १२ दिनपछि शुक्रबार डिस्चार्ज भएका थिए । उपचारमा रहेकाले सरकार र पार्टीले लिनुपर्ने केही महत्वपूर्ण निर्णयसमेत रोकिएका वेला डिस्चार्जलगत्तै प्रधानमन्त्रीले भेटघाट र परामर्श सुरु गरेका हुन् ।उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णयलाई प्रधानमन्त्री ओलीले चुनौती दिएपछि नेकपाका शीर्ष नेताबीचको अन्तरविरोध सतहमा आएको छ । डिस्चार्जपछि प्रधानमन्त्री ओलीले थालेको भेटघाटले गौतमको विषय कसरी सुल्झाउ“छन् भन्ने चासो बढाएको छ ।
शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषयमा कुराकानी गरेको संकेत गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा स्वास्थ्य अवस्थाबाहेक समसामयिक राजनीतिक गतिविधिबारे पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँगको भेटपछि प्रचण्डको सचिवालयले भन्यो, ‘प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्षको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा बधाई दिनुभयो । प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । उहाँले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।’
यसैगरी, वरिष्ठ नेता नेपालसँगको भेटमा पनि राजनीतिक विषयवस्तुमा संवाद भएको छ । नेपालसँग भेटमा प्रधानमन्त्री ओलीले आवश्यक सतर्कतासहित सम्भावित कोरोना संक्रमितहरूको उपचारका लागि सय बेडसम्मको छुट्टै नयाँ अस्पताल बनाउनेदेखि सरकारी र निजी अस्पतालहरूको परिचालनमा केन्द्रित रहेर छलफल गरेका छन् । ‘उहाँ ९माधव नेपाल०ले स्वास्थ्यलाभको शुभकामना दिएपछि प्रधानमन्त्रीले कोरोना भाइरसको जोखिम र राजनीतिक विषयको कुराकानीमा रुचि राखेका कारण केहीबेर त्यसमा छलफल भएको हो,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भने, ‘माधव कमरेडले अहिले स्वास्थ्यको ख्याल गर्नुस्, असर पर्ने गरी धेरै कुरा गर्नुहुन्न भनेर ध्यानाकर्षण गराउँदा पनि रोकिनुभएन, त्यसैले ती विषयमा उहाँहरूबीच छलफल भयो ।’
प्रचण्ड र नेपालसँगको भेटपछि शनिबार साँझ प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा। राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग करिब आधा घन्टा संयुक्त भेट गरेका थिए । ‘मुलुकका पछिल्ला घटना क्रमका समग्र विषयमा प्रधानमन्त्रीज्यूले चासो राख्नुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘महासचिवसहित हामीले उहा“लाई पछिल्ला समग्र विषयवस्तुबारे जानकारी गरायौँ ।’
चिकित्सकहरूको सुझाबअनुसार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै धपेडी नहुने गरी नै शनिबार भेटघाट र कुराकानी भएको पनि थापाले जानकारी दिए । वैदेशिक मामिला सल्लाहकार डा। भट्टराईले पनि पुरानै दैनिकीमा फर्किने प्रयासअनुसार प्रधानमन्त्रीले चिकित्सकहरूको निगरानी र सुझाबअनुसारै भेटघाट र छलफल सुरु गरेको बताए । ‘चिकित्सकहरूको निगरानी र सुझाबअनुसार उहाँले पुरानै दैनिकीमा फर्किने प्रयास सुरु गर्नुभएको छ,’ उनले भने, ‘चिकित्सकहरूकै निगरानी र परामर्शमा उहाँले यो क्रमलाई बिस्तारैबिस्तारै बढाउँदै लानुहुनेछ, हामीले पनि उहाँलाई यसअघि हुने नियमित रिपोर्टिङ गरेका हौँ ।’
प्रधानमन्त्रीले नियमित दैनिकीमा फर्किने प्रयास थालेसँगै थाती निर्णय कार्यान्वयनबारे चासो सुरु भएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणअघि १४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनयन हुने राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णयदेखि केन्द्रीय कमिटीका कतिपय निर्णय कार्यान्वयन हुन सकेका छैनन् । गौतमलाई पठाउनेबारे सचिवालयले सर्वसम्मत निर्णय गरे पनि १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन नगरी प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । गौतमको निर्णय तत्काल कार्यान्वयनका पक्षमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित बहुमत नेताहरू एकातिर रहे पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यलाई ख्याल गर्दै उनीहरू मौन रहँदै आएका छन् ।
छिट्टै मन्त्रिपरिषद् बैठक बोलाउने तयारी
प्रधानमन्त्री ओली आवश्यकताअनुसार मन्त्रिपरिषद् बैठक बोलाउने तयारीमा छन् । केही दिनभित्रै सरकारीनिवास बालुवाटारमै बैठक बोलाउने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । ‘अर्को बैठक नबसेसम्मका लागि धेरै निर्णय गरेर प्रधानमन्त्रीज्यू अस्पताल भर्ना हुनुभएको थियो,’ मुख्य सल्लाहकार विष्णु रिमालले नयाँ पत्रिकासँग भने, ‘आवश्यकता पर्दा अब उहाँले कुनै पनि वेला मन्त्रिपरिषद् बैठक बोलाउन सक्नुहुन्छ ।’ एक महिनासम्म संक्रमणको जोखिम उच्च हुने भएकाले पहिलेजस्तै नियमित मन्त्रिपरिषद् बैठक बस्न भने केही समय लाग्न सक्ने उनले बताए । ‘एक महिनासम्म संक्रमणको उच्च जोखिम भएकाले नियमित बैठकका लागि केही समय लाग्न सक्छ, तर आवश्यकताअनुसार अलि फराकिलो समयमा जुनसुकै वेला मन्त्रिपरिषद् बैठक बस्न सक्छ,’ रिमालले भने, ‘अब सरकारका अत्यावश्यकीय कामहरू रोकिनेछैनन् ।’
बालुवाटारबाटै भिडियो ‘कन्फरेन्स’मार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्ने चर्चा चले पनि रिमालले त्यस्तो हल्ला अस्वीकार गर्दै अबको बैठकमा प्रधानमन्त्री प्रत्यक्ष रूपमै सहभागी हुने जानकारी पनि दिए । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि अब बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकको गर्भनरको नियुक्ति हुने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । गर्भनर चिरञ्जीवी नेपालको पदावधि ६ फागुनमा सकिँदै छ । त्यसअघिकै बैठकबाट गभर्नर नियुक्ति गर्नुपर्ने भएकाले ६ फागुनभित्रै प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाउने सम्भावना छ । नियुक्ति प्रक्रिया पूरा गर्न पदावधि सकिनुअगावै गर्भनर नियुक्तिका लागि दुईपटक मन्त्रिपरिषद् बैठक बस्नुपर्ने हुन्छ । राष्ट्र बैंक ऐन २०५८ अनुसार मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा बन्ने तीन सदस्यीय समितिले डेपुटी गभर्नरसहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । त्यसरी सिफारिस भएका तीनजनाको नाम मन्त्रिपरिषद्मा प्रस्तुत भएपछि मात्र बैठकले तीमध्येबाट एकजनालाई गभर्नरमा नियुक्त गर्नेछ ।
बालुवाटारमै केयर रुम र नियमित फिजियोथेरापी
अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले नियमित दैनिकीमा अभ्यस्त हुने कसरत थालेका छन् । चिकित्सकहरूको सुझाबअनुसार खानपान, आराम र व्यायामलाई ध्यान दिँदै प्रधानमन्त्री ओलीले शनिबारबाट पार्टीका शीर्ष नेतृत्वबाट भेटघाट पनि सुरु गरेर दैनिकीमा अभ्यस्त हुने कसरत थालेका हुन् । बिहान अध्यक्ष ‘प्रचण्ड’ र दिउँसो वरिष्ठ नेता नेपाल तथा साँझ महासचिव पौडेलसहित सल्लाहकार समूहसँग बेग्ला–बेग्लै करिब डेढ घन्टाभन्दा बढी समय भेटर्वार्ता गरेर ओलीले पछिल्लो घटनाक्रम र राजनीतिक विषयमा समेत छलफल गरेका छन् ।
यद्यपि, मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई एक महिनासम्म चलाइने औषधिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले प्रधानमन्त्री ओली बालुवाटारमै निजी चिकित्सकद्वय दिव्या सिंह र दिलीप शर्माको नियमित निगरानीमा छन् । चिकित्सकहरूकै निगरानीबीच उनले शनिबारबाट नियमित दैनिकीमा फर्किने प्रयास थालेका हुन् ।
चिकित्सकहरूले उनलाई एक महिनासम्म अन्य व्यक्तिहरूसँगको सम्पर्कमा नजान तथा कम्तीमा पनि तीन महिनासम्म भिडभाडबाट टाढै रहेर आराम गर्न सुझाब दिएका छन् । ‘एक महिना संक्रमणको बढी जोखिम हुने भएकाले चिकित्सकहरूको सुझाबलाई उहाँले पूरापूर फलो गर्नुहुनेछ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले नयाँ पत्रिकासँग भने । बालुवाटार फर्किएपछि शुक्रबार बेलुकीदेखि नै उनले पहिलेजस्तै खानपिन गर्न थालेको उनको सचिवालयले जनाएको छ । नेताहरूसँगको भेटका अतिरिक्त केहीबेर पत्रपत्रिका अध्ययनका साथै अनलाइनमार्फत पछिल्ला घटनाक्रमबारे पनि प्रधानमन्त्री ओली नियमित ‘अपडेट’ हुन थालेका छन् । आरामपछि सुरक्षाकर्मी र परिवारका सदस्यहरूको साहारामा बालुवाटार परिसरमै केही मिनेट हिँडडुलसमेत गरेको उनको सचिवालयले जनाएको छ ।
यस्तो छ प्रधानमन्त्रीको ‘केयर रुम’
प्रधानमन्त्री ओलीलाई खुला कोठामा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँका लागि छुट्टै बेड राखिएको छ, कुर्चीहरू टाढा राखिएका छन्, छुट्टै विशेष कक्ष बनाइएको छैन,’ सचिवालयका एक सदस्यले भने, ‘उहाँ मास्क लगाएर बस्नुभएको छ, भेट्ने व्यक्तिहरूले पनि टाढैबाट उहाँसँग माक्स लगाएरै कुराकानी गर्छन् ।’
चिकित्सकहरूले कम्तीमा पनि तीन फिट टाढा रहेर मात्र थोरै कुराकानी गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् । तर, मन्त्रिपरिषद् बैठक र पार्टी सचिवालय बैठक बोलाउनुपर्ने अवस्थामा भने चिकित्सकहरूको सुझाबलाई ख्याल गरेर बीचमा सिसा राख्ने कि नराख्नेबारे सचिवालय निर्णयमा पुग्न बाँकी छ । अहिले थोरै मान्छेसँग केहीबेर एक्लाएक्लै भेट्नेबाहेक बैठकै आयोजना गर्ने गरी उनको स्वास्थ्यमा सुधार भइसकेको अवस्था भने नरहेको उच्च स्रोतले जनाएको छ ।
बालुवाटारमै नियमित फिजियोथेरापी
प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चिकित्सकहरूले नियमित ‘फिजियोथेरापी’ पनि गराइरहेका छन् । निजी चिकित्सकहरू दिव्या सिंह र दिलीप शर्मासहित त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रधानमन्त्रीलाई पुरानै दैनिकीमा फर्काउन नियमित थेरापी सुरु गरेका हुन् । ‘यो मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई पुरानै दैनिकीमा फर्काउन जे–जे प्रक्रिया अपनाइन्छ, त्यसैको निरन्तरता हो,’ प्रधानमन्त्रीका एक सल्लाहकारले भने । प्रधानमन्त्री ओलीले अस्पतालबाटै सामान्य हिँडडुलसहितको थेरापी सुरु गरेका थिए ।