धनगढी ७ फाल्गुन- प्रस्तावित विश्व वैदिक वाटिका स्थापनार्थ सम्भाव्यता खोजका लागि आयोजित वैदिक कार्यक्रम बुधबार (आज) देखि धनगढी उपमहानगरपालिका वडा नं २ सरस्वतीनगरमा शुरु भएको छ ।
शिव मन्दिर व्यवस्थापन समिति र सांस्कृतिक पुर्न जागरण आन्दोलन परिचालन समिति नेपाल एवं नागरिक समाज कैलालीको संयुक्त आयोजनामा कलश यात्रा सम्पन्न भएको छ ।
तीन दिन सम्म संचालन हुने वैदिक कार्यक्रममा कलश यात्रा, रुद्री पाठ, भजन कृतन, प्रवचन, भूमि पुजन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दा देवी उपाध्यायले जानकारी दिईन् । प्रस्तावित विश्व वैदिक वाटिका स्थापनार्थ आयोजना गरिएको वैदिक कार्यक्रममा राधाकृष्ण मन्दिर, गौरी घाट निर्माण गर्ने संस्कृतिविद् तथा अभियन्ता पदम राज जोशी ‘प्रभात’ले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिलाई धनगढी उपमहानगरपालिका वडा नं २ बासिन्दा समाजसेवी रंगलाल उपाध्याय र गोरख बहादुर सिंहले विश्व वैदिक वाटिका स्थापनार्थ जग्गा दान गर्ने घोषणा गरे । कार्यक्रममा समाजसेवीद्वय श्याम टायल, मदन राज पाण्डेयले राधा कृष्ण मन्दिर, गौरी घाट स्थल निर्माणका लागि सक्दो सहयोग गर्ने बताए ।
राधा कृष्ण मन्दिर र गौरीघाट स्थल निर्माणका लागि महाशिवरात्रीका दिन भुमि पुजन गरिने शिव मन्दिर व्यवस्थापन समितिका संयोजक मान बहादुर सिंहले बताए । उनले यस अभियानलाई सफल पार्न आर्थिक सहयोग गर्न सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई आग्रह गरेका छन् ।
