धनगढी ३ मंसिर- मंसिर ३ गते कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घन्टा जेल बसेर फर्किएका छन् । कारागारबाट मुक्त भएपछि पत्रकार भण्डारीले आफ्नो फेसबुकमा उक्त प्रतिक्रया व्यक्त गरेका छन् । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलना सम्बन्धी मुद्दा परेको थियो ।
सोही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो । उक्त कैद सजाय बमोजिम उनी एक घन्टा जेल बसेर निस्किएका हुन् ।
‘अदालतको फैसला पालना गर्दै एक घन्टा कैद भुक्तान गरे, एक रुपैयाँ जरिवाना तिरे । तर, अदालतले मेरो पुनरावेदन गर्न पाउने अधिकार अपहरण गरेको छ ।’ उनले आफ्नो फेसबुक वालमा लेखेका छन् –‘यसबाट निर्मला प्रकरणमा अदालत भित्रका केही काला कर्तुतेहरूको मिलेमतोको गन्ध पाइएको छ ।’
उनको भनाई छ ‘अब न्यायलयलाइ कलन्कित गर्नेहरूबिरुद्ध लड्ने बाटो खुलेको छ, चाहे त्यो न्यायाधिश नै किन नहोस । मैले पुनरावेदनको म्याद प्राप्त गर्ने अवस्था रहेको थियो तर दिइएन । यसबिरुद्ध म सर्वोच्च अदालत मात्रै होइन, न्याय परिसद मा पनि जादैछु ।’
तर, उनले अदालतको प्रतिष्ठा कायम गर्ने मूल जिम्मेवारी न्यायमूर्तिहरूको भएको बताएका छन् । सक्षम र बिबेकी न्यायाधिशहरू निर्मला प्रकरणमा सच्चा न्यायमूर्ती नै सबित हुनुहुनेछ भन्ने आशा कायम छ । कदाचित कुनै अवान्छित मिलेमतो भयो भने सजाय र जरिवानाको प्रवाह नगरी लड्ने प्रण समते गरेका छन् । गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको थियो ।
सजाय काटेपछि खेम भण्डारीको सामाजिक सञ्जाल फेसबुकमा दिएको प्रतिकृया यस्तो छ ।
