धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको लोगोमा प्रयोग भइरहेको नक्सामा गम्भिर त्रृटी पाईएको छ । प्रदेश सभाको प्रथम अधिवेशनबाट पारित भएको प्रदेश लोगोमा प्रयोग भएको नक्साको केही भाग चिनको तिब्बत र केही भाग कर्णाली प्रदेशमा गाभेको पाईएको हो ।
दार्चुलाको कालापानीलाई प्रदेशभित्रै रहेको देखाएपनि अपि–सैपाल हिमालको केही भाग तिब्बत र बाजुराको केही भाग कर्णाली प्रदेशको जुम्लामा गाभिएको यो नक्सामा देखिएको भुगोलविदको भनाइ छ ।
भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपाल सरकारको आधिकारिक नक्सालाई मात्र प्रयोग गर्न सरकारी कार्यालय तथा सरोकारवाला निकायमा आग्रह गरेको थियो । तर, सुदूरपश्चिम प्रदेश सभाको लोगो बनाउदा प्रयोग भएको नक्साबारे नेपाल सरकारको आधिकारिक नक्सा प्रयोग नभएको आरोप लागेको छ ।
‘नेपाल सरकारको छाप वा लोगोमा प्रदेशको नक्सा राख्दा नेपाल सरकारको आधिकारिक नक्सा वा विज्ञहरुको राय सल्लाह सुझावमा प्रयोग गर्नुपर्ने हुन्छ’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर लोकबहादुर विष्टले भने ‘यो नक्सा बनाउदा त्यस्तो गरिएको देखिदैन् ।’
‘ठाउँ वा स्थान विशेषलाई चिनाउन तथा त्यसको अवस्थिति, क्षेत्रफल पहिचान गर्नका लागि नक्साको प्रयोग गरिन्छ । असंख्य सूचनालाई केही पेजमा नक्साद्वारा प्रस्तुती गर्न सकिन्छ’ उनले भने ‘नक्सामा ठाउँ अभावका कारण विभिन्न कुराहरु देखाउन संकेतको प्रयोग गरिएको हुन्छ । लोगोमा प्रयोग गर्दा केही सानो भएपनि मुल रेखालाई तोडमोड भने गरिनुहुँदैन् ।’
प्रदेश सभाले लोगो छनौट गर्न प्रदेश सभाका सदस्यहरु रहेको लागो निर्धारण समिति बनाएको थियो । नमूना लोगो बनाउने प्रतिस्पर्धामा प्रदेशका पाँच जनाले भाग लिएका थिए । तीमध्ये डोटीको शिखर नगरपालिका–११ का टेकबहादुर किमाडीले बनाएको लोगो सर्वोत्कृष्ट भएको थियो ।
सुदूरपश्चिम प्रदेशको २०७४ साल चैत २६ गतेको प्रथम अधिवेशनको ११ औं बैठकले सो लोगोलाई अनुमोदन गरेको थियो । प्रदेश सभाको पहिलो अधिवेशनको मुख्य उपलब्धीमा ‘लोगो निर्धारण मस्यौदा समिति गठन भइ प्रदेश सभाको लोगो निर्धारण भएको’ उल्लेख छ । प्रदेशका मन्त्रालयहरुले कुनै पनि ऐन, कानुन, निर्णय वा परिपत्र गर्नुपर्दा सोही लोगो प्रयोग गर्ने गरेका छन । किमडीले भने ‘नेपालको आधिकारिक नक्सालाई प्रयोग गरेर मैले ४–५ रात मेहनत गरेर लोगो बनाए’ उनले भने ।