जनकपुरधाम, असोज २९ ।
राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले आफ्ना सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै चक्का जाम गरेका छन् । राजपा नेपालले बुधबार बिहान साहको रिहाइको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेको हो । राजपा नेपालका दर्जनौ कार्यकर्ताहरु रामानन्द चोकस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए । पक्राउ परेका सांसद साहको रिहाई र बुद्ध एयरको बिरुद्धमा प्रदर्शनकारीहरुले नारावाजी समेत गरेका थिए ।

राजपा नेपालले आफ्नो आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुरधाम भानु चोकस्थित रहेको बुद्ध एयरको कार्यालयमा तालाबन्दी, बुद्ध एयरको टिकट काट्नमा रोक लगाउने तयारी गरेका छन् । सर्वपक्षिय बैठक बसेर आगामी आन्दोलनको कार्यक्रम तय गरिने राजपा नेपाल धनुषाका अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिए । मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।