कञ्चनपुर,
कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र भारतसंग जोडिएको बस्ती महाकाली नगरपालिका–३ दोधाराचाँदनी बडुवाल टोलमा गणेश आधारभूत विद्यालय छ । जोगबुढा नदीपारी रहेको उक्त बस्तीमा रहेको विद्यालयमा १–५ कक्षासम्म मात्रै पढाई हुन्छ ।
महाकाली नदी पारीको नेपाल भनेर दोधाराचाँदनीलाई चिनिन्छ, त्यो दोधाराचाँदनी भन्दा पश्चिमतिर रहेको जोगबुढा पारी रहेको बडूवाल गाउँमा विकास निर्माणले त्यती फड्को समेत मार्न सकेको छैन् ।
बस्तीको पुर्वतिर रहेको जोगबुढा नदीको वाढी र बस्तीकै छेउमा भारतीय वन छ । त्यही वनबाट आउने जंगली जनावरको दोहोरो चेपुवामा स्थानीय बासिन्दा बाँच्न विवश छन् । कृषिका लागि उपयुक्त नभएको जमिनमा फाट्ट फुट्ट लगाएको खेतीपाती समेत जंगली जनावरले सखाप पारिदिन्छ ।
तीन बर्षअघि मात्रै बस्तीलाई नेपालसंग मात्रै नभई आफ्नै नगरसंग जोडिनका लागि नदीमा निर्माण भएको झोलुङ्गे पुलले स्थानीयलाई केही राहत दिएपनी दुःखै दुःखमा जिवन विताउन बाध्य भएका छन् । झण्डै दुई सय परिवारको बसोबास रहेको बस्तीमा जनप्रतिनिधी आएपछि मात्रै विद्युतीकरण भएको थियो ।
यस अघि उज्याँलोका लागि उनीहरुले मट्टीतेल र सोलारकै भरपर्नु परेको थियो । बडुवाल टोलका स्थानीय लाल बहादुर महराले बस्तीको उत्तर, पुर्व र दक्षिणतिर बग्ने जोगबुढा नदीले बर्षनी कटानी गरिरहेको बताए । ‘तटबन्ध निर्माणका लागि पहल भएपनि बर्षनी सानो सानो रकममा काम हुन्छ, ‘उनले भने, ‘अघिल्लो पटक बाँधिएको तटबन्ध अर्को बर्ष भत्काईदिन्छ, वाढी गाउँमा बस्छ, बस्ने सकिदैन् ।’ बर्खामा नदी, हिउँदमा जंगली जनावरको आतङ्कले बस्तीका स्थानीय हैरान भएको उनले बताए । उनले गाउँमा रहेको विद्यालय प्राथमिक तहसम्मको मात्रै भएकाले कक्षा ५उर्तिण भएपछि यहाँका बालबालिका गुजारा चलाउन भारततिर जान बाध्य भएको बताए ।
‘गाउँमा कक्षा ५ सम्मको मात्रै विद्यालय छ, ‘उनले भने, ‘विगतमा नदीमा पुल थिएन, पुल भएपछि पनि साना बालबालिका पारी टाढा जान सक्दैनन् ।’ बस्तीदेखि झण्डै डेढ, दुई घण्टा टाढा विद्यालय भएकाले पढाईमा समस्या भएको उनले बताए । ‘घरमा साईकल हुने विद्यार्थी पारी पढ्न जान्छन्, ‘उनले भने, ‘साईकल नहुने विपन्न घरमा भारत जान्छन् ।’ कक्षा ५ उर्तिण गरेपछि थप अध्ययनका लागि ३० प्रतिशत मात्रै बालबालिका पारीका भानु मावि र शंकर पार्वती माविमा अध्ययन गर्न जाने गरेको बताए । सकभर खेती हुँदैन, भएपनि जनावरले नराखेपछि अधिकाँस परिवारले बेसार गरेर दैनिक छाक टार्नु परेको उनले दुखेसो छ ।
‘केही विद्यार्थी घरयासी परिबन्धनले भारततिरै जान्छन, केही यतै मजदुरी गर्छन, ‘उनले भने, ‘बाँकी थोरै विद्यार्थी मात्रै पारीको गाउँमा गएर पढ्छन् ।’ गाउँमा आधारभुत तथा माध्यामिक तहको विद्यालय नहुँदा सबैभन्दा बढि बालबालिका शिक्षाबाट बञ्चित भएको बताउदै उनले ८ वा १० कक्षा सम्मको विद्यालय हुनुपर्नेमा जोडदिए ।
बडुवाल टोलकी महिला पदमा बडूवालले अभावै अभावमा जिन्दगी काट्नु परेको दुखेसो पोखिन् । ‘बर्खामा जोगबुढा नदी उर्लेर आउँछ, ‘उनले भनिन, ‘राती निन्दा लाग्दैन, बस्ती डुवानमा पर्छ, ज्यानै जोगाउन मुस्किल पर्छ ।’
जंगली जनावरको उस्तै आतङ्क हुन्छ, तरपनि ठुला जनावर हात्ती गाउँमा पसे अन्नबाली मात्र नभई बस्ने घरवार समेत ध्वस्त पारिदिने गरेको उनले दुखेपो पोखिन् । ‘गाउँमा हात्ति आउँदा भाग्ने ठाँउपनि छैन्, ‘पश्चिमतिर जंगल छ, अन्य तीनदिशातिर नदी छ ।’ बिरामी हुँदापनि पुलसम्म पिठ्युमै मानिसलाई बोकेर ल्याउनुपर्ने बाध्यता रहेको दुखेसो पोख्दै उनले सबैभन्दा बढि मारमा महिला र बालिबाबालिका रहेको बताईन् । ‘यहाँ राम्रो उब्जाउ हुँदैन, ‘उनले भनिन, ‘तै पनि हामी खेती लगाउँछौँ, तर भित्र्राउन पाउँदैनौँ ।’ गाउँमा ५ सम्मको मात्रै विद्यालय भएकाले थप अध्ययनका लागि बालबालिका समस्या भएको उनले बताईन् । ‘गाउँमा ठुलो तहको विद्यालय छैन, ‘उनले भनिन, ‘हिडेरै बाहिर जान सक्दैनन् ।’
सो बस्तीबाट वारी भानु माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत मुस्कान बडूवालले डेढ घण्टा पैदल हिडेर अध्ययन गरिरहेको बताईन् । ‘साईकल किन्ने पैशा छैन, ‘उनले भनिन, ‘हिडेरै विद्यालय जान्छु, ‘कक्षा कोठासम्म पुग्दा थकित हुन्छ, तैपनि अध्ययन गर्नुपरिरहेको छ ।’ पढाई गरे पो ठुलो मान्छे बन्न सकिन्ने मनमा सोच राखेर दुख गरेरै भएपनि अध्ययन गरिरहेको बताईन् । गाउँमै माध्यामिक तहसम्मको विद्यालय भईदिएको भए राम्रो हुने उनले बताईन् । कहिलेकाही त्यहाँ गाउँमा आफन्तको घरमा बस्ने गरेको उनले दुखेसो पोखिन् ।
बडूवाल टोलकै शंकर पावर्त माविमा कक्षा ९ मा अध्ययनर पुष्पा महताले गाउँमै विद्यालय नभएका कारण अर्को बस्तीमा गएर पढ्न बाध्य भएको बताईन् । ‘पहिले नदीमा पुल थिएन, उतिबेला यहाँबाट वारी कमै विद्यार्थी जान्थे, उनीहरुलाई धेरै दुख थियो, ‘उनले भनिन, ‘अहिले पुल बनेको छ, टाढा विद्यालय भयो ।’ अभिभावकको प्रेरणाले दुखै भएपनि अहिले विद्यालय पढिरहेको उनले बताईन् । ‘गाउँमा विद्यालय छैन भन्दैमा विद्यालय छाड्न हुन्न, ‘उनले भनिन, ‘दुख काटेरै भएपनि पढिरहेकी छु ।’
महाकाली नगरपालिकाले उक्त बस्तीमा विद्युत विस्तारका साथै जंगली जनावरबाट बाँच्नका लागि विद्युतीय तारबार लगाएको छ । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले बडूवाल टोलको समग्र समस्या समाधानका लागि नगरपालिका तयार रहेको बताए । प्रवक्ता सिजालीले गाउँमै माध्यामिक तहसम्मको विद्यालय स्थापनाका लागि स्थानीयले माग गरे नगर शिक्षा समिति मार्फत स्वीकृत गरिने बताए । गाउँमा तटबन्ध निर्माणमा साथै अन्य विकास निर्माणका लागि नगरपालिकाले बस्तीको विकासमा ध्यान दिएको बताए । नयाँ संविधानमा शिक्षा सम्बन्धीको हकलाई मौलिक हक अन्र्तरगत राखेपनि अझैपनि ग्रामिण दुर दराज सीमा बस्तीमा बालबालिका शिक्षाबाट बञ्चित हुँदै आएका छन् ।