कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा पुल निर्माण कार्य थालेको दश वर्षसम्म बन्न सकेको छैन । निर्माण कम्पनीको लापरबाहीका कारण लामो समय बित्दा पनि पुलको निर्माण कार्य नसकिएको स्थानीयको भनाइ छ ।
भजनी नगरपालिकाको चार वटा वडा जोड्ने सो पुल निर्माण हुन थालेको भने १० वर्ष पुगिसकेको छ । हुलाकी सडकअन्तर्गत २०६६ सालमा ठेक्का सम्झौता भएको सो पुलको निर्माण कार्य अझैसम्म आधा पनि पूरा भएको छैन । हुलाकी सडक आयोजनाका अनुसार सो पुलको निर्माण कार्य अहिलेसम्म ३५ प्रतिशतमात्र पूरा भएको छ ।
भजनी नगरपालिका वडा नम्बर ३, ४, ५ र ८ का बासिन्दाले पुल नभएका कारण आवतजावतमा निकै सास्ती भोग्नु परिराखेको छ । नगरपालिका –३ का मानबहादुर चुनाराले भने– हरेक वर्ष ठेकेदारले यही वर्षभित्र पूरा गर्छु भनेर आश्वासन दिन्छ, तर कामको गति भने उस्तै हुने गरेको छ । स्थानीयका अनुसार सुरुमा दुई वर्षको निर्माण अवधिसहित लामा सेर्पा जेभीले ठेक्का पाएको थियो । तर, ठेकेदार कम्पनीले तोकिएको अवधिमा काम पूरा गरेन, बरु पटकपटक सडक विभागबाट म्याद थप गर्दै आएको छ ।
कान्द्रा नदीमा वर्षायाममा डुंगा चलाउन समेत कठिनाइ हुने भएकाले स्थानीयले झन् सास्ती भोग्नु परिरहेको छ । पुल नहु“दा सबैभन्दा बढी विद्यार्थी, अशक्त, बृद्धबृद्धा, महिलाले सास्ती भोगिरहेका छन् । वर्षायामको तीन महिना विद्यार्थीले पठनपाठनबाट वञ्चित हुनुपरेको छ । विरामीले स्वास्थ्य उपचार सेवा पाउन नसक्ने अवस्था हुने गरेको छ ।
वडा नम्बर ५ को सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका मानबहादुर साउदले पुल नहुदा वर्षायाममा विद्यालय जान कठिनाइ हुने गरेको बताए । पुल निर्माणको ठेक्का पाएको लामा सेर्पा जेभीले भने सडक आयोजनाले ठेक्का सम्झौता भइसकेपछि पुलको डिजाइन परिवर्तन गरेकोले समयमा निर्माण कार्य पूरा गर्न नसकिएको दाबी गर्दै आएको छ ।
निर्माण कम्पनीका सबइन्जिनियर राधेश्याम शर्माले यसै वर्षभित्र निर्माण कार्य पूरा हुने आश्वासन दोहो¥याए । हुलाकी सडक आयोजनाअन्तर्गत तीन करोड ४५ लाख २० हजार रुपैया“को लागतमा २०६६ साल जेठ ३१ गते दुई वर्षको निर्माण अवधिसहित लामा सेर्पा जेभीले सो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।