मोहना सिँचाइ आयोजनाको काम सम्पन्न भइ खेतसम्म पानी पुगेपछि ओलानीका किसान खुसी भएका छन् । कैलालीस्थित गोदावरी नगरपालिका–११ ओलानीको मछेली खोलामा निर्माण भएको सिँचाइ आयोजनाले किसानलाई खुशी बनाएको हो ।
सो आयोजना गत जेठमा सम्पन्न भएपछि सिँचाइ समस्या भोग्दै आएका किसानको खेतमा सजिलै पानी पुगेको छ । मछेली खोलाको पानीले खेत सिँचाइ गर्न पाएपछि ओलानी र आसपासका किसान खुशीले गद्गद् छन् ।
‘सिँचाइ सुविधा नहुँदा खेतीपाती गर्न समस्या थियो’, ओलानीका राजेशबहादुर बडैलाले भने–‘मोहना सिँचाइ आयोजनाले कुलोमा पानी आएपछि यो वर्ष खेतीपाती गर्न निकै सहजभयो ।’
चुरे फेदमा रहेको ओलानी सुगम जिल्लाको विकट ठाउँ हो, जहाँ खानेपानीकोसमेत हाहाकार रहेको छ । खानेपानी समस्या र सिँचाइ असुविधाले गर्दा ओलानीवासीको विगत निकै कष्टकर थियो । तर, मछेली खोलाको पानी खेतसम्म पुगेपछि एउटा समस्याबाट छुटकारा मिलेको स्थानीय नवलकिशोर कडायतले बताए ।
‘सिँचाइ आयोजनाको पानीले जमिन सिञ्चित हुन थालेपछि अहिले धेरै सुविधा भएको छ’, उनले भने–‘तर, वर्षा नहुँदासम्म खोलामा पानी बग्दैन । बर्खा याममामात्रै खोलामा पानी हुने गर्दछ ।’ पहिले पहिले स्थानीयले आफै नहर बनाएर मछेलीको पानी खेतसम्म ल्याएको कडायतले विगत सुनाए । ‘स्याउलाको बाँध बनाएर कुलोमा पानी ल्याउने र खेतसम्म पु¥याउने कार्य हुन्थ्यो’, उनले भने ।
ओलानीवासीको मुख्य पेसा कृषि हो । सो ठाउँका स्थानीय खेतीपातीको काम सकेर कामका लागि भारत जाने गरेका छन् । कतिपय भने सधैंजसो भारतमै बस्ने गरेको जनाइएको छ । कृषिलेमात्रै गुजारा नहुने भएकाले धेरै गाउँलेहरु पैसा कमाउनका लागि भारत जाने गरेको कडायतले बताए । ‘तर, अब सिँचाइ सुविधाले खेतीपाती सहज भएको छ’, उनले भने ।

मोहना सिँचाइ आयोजनामार्फत मछेली खोलको पानी किसानको खेतसम्म पुगेको यो तेस्रो पटक हो । यसअघि, दुई पटक आयोजनाको पानी सो ठाउँमा आएको थियो । तर, आयोजनाको बाँध भत्केपछि धेरै वर्षसम्म किसानले अकाशे पानीको भरमा खेती बाध्य भएका थिए । तेस्रो चरण अन्तर्गत पुनः नयाँ बाँध बनाइएपछि किसानले सिँचाइ गर्न पाएका छन् ।
२०३६ सालमा पहिलो चरण अन्तर्गत बनेको बाँधले २०५२ सालसम्म किसानले खेत सिँचाइ गर्न पाएका थिए । सोही वर्ष खोलामा आएको बाढीले बाँध भत्काएपछि नहरमा पानी नै जान सकेन । दोस्रो चरण अन्तर्गत २०५८ सालमा अर्को बाँध बनाइयो तर, त्यो पनि टिकाउ हुन सकेन । खोलाको बाढीले २०५९ सालमै बाँध भत्काएपछि पुनः समस्या निम्तिएको थियो ।
२०७१ सालबाट तेस्रो चरण अन्तर्गत नयाँ बाँध निर्माण भइ गत जेठमा सम्पन्न भएको वडा नम्बर ११ का वडा अध्यक्ष शिवबहादुर बिकले जनाए । नेपाल सरकारको ३७ करोड रुपियाँ लगानीमा तेस्रो चरणको बाँध बनाइएको छ । तेस्रो चरणको बाँधले तीन हजार २०० हेक्टर जमिन सिञ्चित हुने लक्ष्य राखिए पनि हालसम्म दुई हजार २०० हेक्टर जमिनमामात्रै सिँचाइ सुविधा भएको उनले बताए ।
‘बाँध नयाँ बनाइए पनि किसानको खेततिर नहर पुरानै छ’, अध्यक्ष बिकले भने–‘पुरानो नहरका कारण सबैतिर पानी पुग्न सकेको छैन ।’ योजनाको पानी न्यायोचित ढङ्गले वितरण गर्नका लागि पुराना नहर भत्काएर नयाँ बनाउन आवश्यक रहेको औंल्याएको छ ।
‘बाँधदेखि ३०० मिटरसम्म मूल नहर ठीक छ’, अध्यक्ष बिकले भने–‘तर, त्योभन्दा तलतिरको पुरानो नहरहरु सबै भत्काएर नयाँ नबनाएसम्म न्यायोचित ढङ्गले सबैलाई पानी वितरण हुन सक्दैन ।’ मोहना सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र कञ्चनपुरको कृष्णपुर, गोदावरी नगरपालिकाको मालाखेतीसम्म रहेको जनाइएको छ ।

साभार ः पश्चिम टुडेबाट