धनगढी, १४ असोज – प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आवमै खरिद गरेका एम्बुलेन्सहरू वितरण गर्न नसकेर थन्किएका छन । मन्त्रालयले सुदूरपश्चिमका ७ पहाडी जिल्लाका लागि १६ आधुनिक एम्बुलेन्स खरिद गरेको थियो ।
गत आवकै बजेटबाट ६ करोड २५ लाखमा १६ एम्बुलेन्स खरिद गरिएको हो । सुरुमा १६ निर्वाचन क्षेत्रमा एउटा एउटा वितरण गर्ने योजनाअनुसार खरिद भएपछि हाल आएर धेरैतिरबाट माग आएपछि अलमल भएकाले वितरणमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहभन्दा पनि जिल्ला अस्पताललाई दिँदा प्रभावकारी हुनसक्ने सुझाव आएपछि मन्त्रालयले निर्णयमा ढिलाइ गरेको स्रोतको भनाइ छ । मन्त्रालयले सुरुमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल, डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकी, डोटीमा जिल्ला अस्पताल र चवराचौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई वितरण गर्ने सूची बनाएको थियो ।
यी मध्येका ६ स्वास्थ्य संस्थाको नाम हटाएर सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वस्थ्य केन्द्र कमलबजार अछाम, जोगबुडा अस्पताल डडेल्धुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ राखिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार हिकिला स्वास्थ्य चौकी दार्चुला, कुलाउ स्वस्थ्य चौकी बैतडी, मटेला स्वास्थ्य चौकी बझाङ, भागेश्वर स्वस्थ्य चौकी डडेल्धुरा, विनायक पञ्चदेवल अछाम तथा कोल्टी प्रथामिक स्वास्थ्य केन्द्र बाजुराको नाम हटाइएको छ ।
बजेट शीर्षकमा निर्वाचन क्षेत्रमा दिने भन्ने योजनाअनुसार खरिद भएपनि त्यसो गर्दा प्रभावकारी सञ्चालनमा कठिनाइ हुन सक्ने देखिएकाले निर्णय गर्न ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए । अब चाडै निर्णय गरेर वितरण गर्ने उनले बताए ।
संघको अर्थ मन्त्रालयको सिफारिसमा भन्सार छुटमा एम्बुलेन्स ल्याइएको हो । ३९ लाखका दरले ‘बी ग्रेड’ का एम्बुलेन्स खरिद गरेको सूचना अधिकारी खड्काले जानकारी दिए । सुदूरपश्चिममा ‘बी ग्रेड’ को अहिलेसम्म एउटा पनि एम्बुलेन्स छैन ।
यी एम्बुलेन्समा आधुनिक उपकरणसहित स्वास्थ्यकर्मी र तालिमप्राप्त चालकको व्यवस्था हुने बताइएको छ । हाल विभिन्न स्थानमा सञ्चालनमा रहेका एम्बुलेन्सहरू ‘सी ग्रेड’ का हुन ।
कान्तिपुरबाट