कैलालीको गौरीगंगा नगरपालिका–११ की माया विकको सामूहिक बलात्कार र हत्या मुद्दामा वादी र प्रतिवादी पक्षका अधिवत्तालाई लिखित बहस नोट पेश गर्न आदेश जारी भएको छ। जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको एकल इजलालले सो आदेश जारी गरेको हो। अदालतको श्रेस्तेदार भुवन गिरीका अनुसार मंगलवार तोकिएको १० औंं पटकको पेशीको सुनुवाइ गर्दै उक्त आदेश जारी भएको बताए।
घटनाको मुद्दा अन्तर्गतको ९ औं पटकको पेशी स्थगित भएको थियो। बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो। पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलिरहेको छ। हाल उनीहरू पुर्पक्षका लागि थुनामा रहेका छन्।
घटना भएको १ वर्षभन्दा बढी समय बितेपनि फैसला नहुँदा पीडित परिवारले अन्याय भएको अनुभूति गरेका छन्। मायाका बुवा खडक विकले विभिन्न नाममा फैसला लम्ब्याएर आफूहरूलाई पीडामाथि पीडा थपिएको बताए।
जिल्ला अदालत कैलालीले गरेको थुनछेक आदेशविरुद्ध प्रतिवादीका तर्फका कानून व्यवसायीले उच्च अलदातमा रिट दायर गरेपछि सुनुवाइमा ढिलाइ भएको जिल्ला अदालतले जनाएको छ। गत वर्ष असार १२ गते गौरीगंगा नगरपालिकाको सामाजिक परिचालकमा कार्यरत विक कार्यालय जान भनेर घरबाट हिँडेकी थिइन्।
असार १५ गते कैलालीको गौरीगंगा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा उनको शव भेटिएको थियो। १ साता लामो प्रहरीको अनुसन्धानले उनको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो।
गत वर्ष अभियुक्त सार्वजनिक गर्दै कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले ३ जनाले सामूहिक बलात्कारपछि हत्या गरेको बताएका थिए।जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुङ्ग्याउनुपर्ने कानुनी व्यवस्था भए पनि कैलाली जिल्ला अदालतमा उक्त मुद्दाको पेशी पटकपटक सर्दै आएको हो।