कञ्चनपुर,
कञ्चनपुरको एक सामुदायिक विद्यालयका शिक्षकको सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा कर बाफतको रकम हिमामिना भएको छ ।
भीमदत्त नगरपालिका–६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालयका शिक्षकको सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा कर बाफतको रकम हिमामिना भएको हो ।
लामो सयमदेखि विद्यालय प्रशासन तथा लेखाले शिक्षकबाट काटेर बैकमा जम्मा गर्नुपर्ने उक्त रकम जम्मा नभई दुरुपयोग भएको पाईएको छ ।
शिक्षकहरुका अनुसार दशकदेखि यता तलबबाट काटेर सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा करको रकम जम्मा गरिएको छैन् ।
आर्थिक बर्ष ०६७÷०७६ देखि यस्तो बदमासी भएको पीडित शिक्षकले बताएका छन् । आफ्नो मासिक तलबबाट सञ्चयकोष, कर्मचारी बिमा, नागरिक लगानी कोष र समाजिक सुरक्षा कर बाफतको रकम काटेपनि जम्मा नगरिदिएको भन्दै २३ जना शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा सामुहिक उजुरी दिएका छन् ।
शिक्षकहरुले प्रध्यानाध्यापक बहादुर चन्द र पुर्व लेखापाल मोहन साउदले उक्त रकम हिनामिना गरेको आरोप लगाएका छन् । प्रअ चन्द र लेखापाल साउनले रकम जम्मा नगरि आफ्नो व्यक्तिगत काममा खर्च गरेको शिक्षकको आरोप छ ।

सरकारी शिक्षकको उक्त रकम जम्मा नगरिदिएपछि विद्यालयका पीडित शिक्षक र प्रअविच विवाद शुरु भएको छ । उनीहरुविच खासै राम्रो सम्बन्ध देखिएको छैन् ।
संचयकोष लगायतमा आफ्नो रकम जम्मा नभएपछि शिक्षकले अन्तिम पटक बाध्य भएर अख्तियार धाएको बताएका छन् । एक शिक्षकका अनुसार यस अघि पनि रकमकै विषयमा तीन पटक अख्तियारमा उजुरी गर्न तयारी गर्दा प्रअबाट रोकिएको थियो । ‘हामीले हाम्रो रकम जम्मा नगरिदिएको विषयमा आर्थिक बर्ष २०६७÷०६८ देखि थाहा पाएका थियौँ, ‘ति शिक्षकले भने, ‘प्रअ संग रकम जम्मा गरिदिने विषयमा आग्रह गर्दागर्दै केही सुनुवाई भएन् ।’ बाध्य भएर अख्तियारको शरणमा पुगेको शिक्षकको भनाई छ । अन्तिम पटक पनि अख्तियार पुग्दा उजुरी रोक्ने प्रयासका बाबजुत पनि उजुरीदर्ता गराएरै छाडेको ति शिक्षकको भनाई छ ।
आपसी विवाद गर्दा विद्यालय नै धरासायी बन्ने र शिक्षकको समाजप्रतिको उत्तरदायित्व निर्वाह नहुने भएपछि आफुहरुले उच्च नैतिकता देखाउदै अख्तियारमा मात्रै उजुरी दिएको शिक्षकले बताएका छन् । ‘पैशा जम्मा गर्ने विषयमा कुरा उठ्दा प्रअले पैशा हाल्छौँ, भन्ने तर नहाल्ने गरे, ‘पीडित शिक्षकले भने, ‘कुनै बर्षको हाल्ने कुनैको नहाल्ने यस्ता यस्तै चलिरह्यो ।’ रकम जम्मा नगरेको विषयको तनावले पुर्व लेखापाल मोहन साउदले गत बर्ष माघमा राजिनामा समेत दिएको शिक्षकले बताएका छन् । केही शिक्षकले रकम जम्मा भएको बताएका छन् । भने केहीले जम्मा भए नभएको विषयमा अनविज्ञता प्रकट गरे । शिक्षक जगदिश भट्टले ६ महिनाको जम्मा हुनुपर्ने भएपनि पाँच महिनाको मात्रै जम्मा भएको बताए । ‘मेरो पाँच महिनाको मात्रै संचयकोषको रकम जम्मा भएको म्यासेज आयो, ‘उनले भने, ‘एक महिनाको आएको छैन, अरुको थाहा भएन् ।’
सरकारी कोषबाट रकम खाने मात्र नभई निजी शिक्षकले समेत बर्षदिनदेखि पारिश्रमिक पाएका छैनन् । उच्च माविमा कार्यरत तीन जना शिक्षकले धर्मानन्द भट्ट, पुष्पा जोशी र धर्मराज नाथ लगायतका निजी स्रोतका शिक्षकले गत बर्षदेखि पारिश्रमिक पाएका छैनन् । उच्च माविका शिक्षक धर्मानन्द भट्टले ०७५ असारदेखि ०७६ भदौँ मसान्तसम्ममा १५ हजार मात्रै पारिश्रमिक पाएको बताए । उनको मासिक १७ हजार पारिश्रमिक तोकिएको थियो । पाएको रकम पनि महिनादिनको पुरै छैन् । शिक्षक धर्मानन्द भट्टले तोकिएको पारिश्रमिक भन्दा दुई हजार कम त्यही पनि एक महिनाको १५ हजार मात्रै पाएको बताए । यसरी कुनैपनि सरकारी कर्मचारीको रकम समयमै पारिश्रमिक दिनुपर्ने, कर काट्नुपर्ने, जम्मा गर्नुपर्ने भएपनि शान्ति निकेतनमा भईरहेको आर्थिक बेथितिले शिक्षा क्षेत्रमा थप अनियमिता, ज्यादती हुने गरेको पुष्टी गरेको छ ।
शान्ति निकेतनका प्रअ बहादुर चन्दले लामो समयदेखिको रकम जम्मा गर्नुपर्ने नभई ६ महिनाको मात्रै बाँकी रहेको स्वीकार गर्नुभयो । ‘हामीले यताबाट भौचर उठाए, बैंकले दाखिला गरिदिएन, ‘उनले भने, ‘कुनै पनि शिक्षकको रकम हिनामिना भएको छैन् ।’ प्रअ चन्दले ०७४ र ०७५ सालको तीन÷तीन महिनाको मात्रै रकम जम्मा गर्न छुटेको बताउदै सो रकम जम्मा भईसकेको बताए । ‘हामीले रकम हिनामिना गर्ने कुरै भएन, ‘प्रअ चन्दले भने, ‘रकम सम्बन्धीत शिक्षकको खातामा दाखिला नभएको रहेछ, अहिले गरिरहेका छौँ ।’ लेखा र प्रअको मिलोमतोका जम्मा गर्नुपर्ने रकम चलाएको अन्य शिक्षकले आशंका गरेका छन् ।
निजि स्रोतका शिक्षकको हकमा पुष्पा जोशी र कर्मराज नाथले पेश्की रकम लिएको बताउदै प्रअ चन्दले धर्मानन्द भट्टको हकमा केही रकम बाँकी रहेको बताए । सबै निजी शिक्षकको पारिश्रमिक रकम दिने प्रअ चन्दले बताए । विद्यालयसंग स्रोत अभावका कारण निजी शिक्षकको पारिश्रमिक भुक्तानीमा ढिलाई भएको प्रअ चन्दले स्वीकार गर्नुपभयो । शिक्षकको सामुहिक उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले छानबिन भईरहेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रवक्ता टोप बहादुर चन्दले शिक्षक सामुहिक रुपमा आएर उजुरीदिएपछि त्यहाँ समस्या रहेको हुनसक्ने बताए । ‘सामुहिक रुपमा शिक्षक अख्तियारमै उजुरी दिन आए, ‘प्रवक्ता विष्टले भने, ‘यहाँ अनियमिता भएको छ, हामी छानबिन गरिरहेका छौँ ।’ प्रारम्भिक रुपमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई केन्द्र मार्फत आवश्यक कागजात पत्र झिकाएको बताए ।
नयाँ पत्रिकाबाट