धनगढी, २३ भाद्र
नेपाली काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि कैलालीमा प्रतिनिधी खटाएको छ ।
केन्द्रीय समितिको निर्णय अनुसार संघीय सभा निर्वाचन क्षेत्र नं १को (क) प्रदेश सभा क्षेत्रमा कमलकिशोर घिमिरे र (ख) प्रदेश सभा क्षेत्रमा अरुणसिंह राठौर, संघीय सभा निर्वाचन क्षेत्र नं २को (क) प्रदेश सभा क्षेत्रमा टेकबहादुर साँवद र (ख) प्रदेश सभा क्षेत्रमा अक्कल बहादुर बिष्ट र संघीय सभा निर्वाचन क्षेत्र नं ३को (क) प्रदेश सभा क्षेत्रमा लक्ष्मीनारायण शाह र (ख) प्रदेश सभा क्षेत्रमा अम्बिका थापा र संघीय सभा निर्वाचन क्षेत्र नं ४को (क) प्रदेश सभा क्षेत्रमा योगेन्द्र बहादुर शाही र (ख) प्रदेश सभा क्षेत्रमा दिवानसिंह बिष्ट र संघीय सभा निर्वाचन क्षेत्र नं ५को (क) प्रदेश सभा क्षेत्र पृथ्वीबहादुर सिंह र (ख) प्रदेश सभा क्षेत्रमा मेघराज खडकालाई खटाएको नेपाली काँग्रेस कैलालीमा सभापति नरनारायण शाह मनुले जानकारी दिए ।
नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । यही भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्व्जिल्ला सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार भइसकेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको नेपाली काँग्रेस कैलालीका सभापति शाहले जानकारी दिए ।
अभियान विपी कोइरालाको १०६औँ जन्मजयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई आगामी असोज ७ गते समापन हुने उनले बताए । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् । जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान सम्पन्न गरिने नेपाली काँग्रेस केन्द्रीय समितिले जनाएको छ । जसअनुरूप हरेक क्षेत्रमा एक एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाउन लागिएको हो ।
दोस्रो चरणको अभियानका औपचारिक कार्यक्रम पनि छरितो हुने र वक्ता सीमित संख्या तथा बढी अन्तरक्रियात्मक हुने नेपाली काँग्रेस कैलालीका सदस्य शेरबहादुर देउवाले जानकारी दिए । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम हुने देउवाले जानकारी दिए ।
विपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरुवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीरूपमा उद्घाटन गरिने पार्टी कार्यालयले जनाएको छ ।
तेस्रो चरणको अभियान आगामी पुस ७ मा प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुनेछ । काँग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि गत वैशाख ३ गते मुलुकभर तीन चरणमा जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो । जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि काँग्रेसले जनाएको छ । त्यसैगरी पार्टी प्रवेशका लागि अभियान चलाउने, पार्टीका माथिदेखि तल्लो तहका नेताहरुबीचको सम्वादलाई घनिभूत बनाउने पनि जागरण अभियानको उद्देश्य रहेको छ ।
त्यस्तै वडा स्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्दकालका एवं विभिन्न आन्दोलनका घाइतेहरूको पिडा बुझ्ने ,पार्टी प्रवेशका कार्यक्रम र संविधान दिवसका कार्यक्रममा पनि सोहि अनुरुपका कार्यत्रम सञ्चालन गरिने बताईएको छ । त्यस्तै असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार वाइडबडी, न्यारोबडी प्रकरण लगायत , बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने भएको छ ।
यस्तो छ काँग्रेसको राष्ट्रिय जागरण अभियानको १५ बुँदे उद्देश्यः
१ राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्र्दै पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न । यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसँग व्यवहारिक र भावनात्मक समन्वय अभिवृद्धि गर्दै पार्टीलाई सबल बनाउँदै अघि बढ्ने ।
२ कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न ।
३ नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।
४ वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसँगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन । (वाइड वडी, न्यारो वडी लगायत नेपाल वायुसेवा निगममा भएका भ्रष्टचार एवं भ्रष्टाचारका अन्य प्रकरणहरू)
५ नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।
६ जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन ।
७ तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउँदै अघि बढ्ने ।
८ मुलुकको वर्तमान राजनैतिक, सामाजिक, प्रशासनिक एवं कुटनैतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
९ तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।
१० नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।
११ नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथा देखि छाउपडि सम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन ।
१२ भुकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो संभावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्माणको छलफल प्रारम्भ गर्ने ।
१३ स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।
१४ कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
१५ नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्व तयारी गर्ने ।
यो पनि हेर्नुहोस् राष्ट्रिय जागरण अभियानको काँग्रेसले तयार पारेको गित