धनगढी, ११ भाद्र- धनगढी उप–महानगरपालिको न्यायीक समितिले मंगलबार देखि आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको डेउडा गित प्रतियोगिता बुधवार सम्पन्न भएको छ । उक्त डेउडा गित प्रतियोगितामा धनगढी उप–महानगरपालिका वडा नं १२ प्रथम भएको छ ।
त्यसैगरी वडा नं ११ दोश्रो र वडा नं २ तेश्रो हुन सफल भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १६ हजार र प्रमाणपत्र, दोश्रोलाई १४ हजार र प्रमाणपत्र र तेश्रोलाई १० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १० वटा महिला समुहहरुले सहभागिता जनाएको थियो ।
लैङ्गिक हिंसाको घट्नुको साटो बढ्दै गएकाले त्यसलाई न्यूनिकरणमा सहयोग पुगोस भन्ने उदेश्यले डेउडा गित प्रतियोगिताको आयोजना गरिएको उप–प्रमुख भट्टले बताईन । लैङ्डिक हिंसाका बारेमा सन्देश प्रवाह गर्ने र न्यूनीकरणका लागि दवाव दिने उदेश्यले गौराको अवसरमा डेउडा गित प्रतियोगिताको आयोजना गरेको हो उप–प्रमुख भट्टले भनिन् , यसले केहि हदसम्म भएपनि प्रभाव पार्ने छ ।
उप–प्रमुख भट्टले लैङ्गिक हिंसाको अन्त्य नभएसम्म समाज समृद्ध हुन नसक्ने बताईन । अहिले पनि धर्म, संस्कृती मुल्य र मान्यताका आडमा लैङ्गिक हिंसाका घटना घटिरहेका छन् उप–प्रमुख भट्टले भनिन्, त्यसका लागि पनि जागरण ल्याउनु आवश्यक छ ।
डेउडामा बर्षको साउन १० गते भिमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको तर अपराधी पत्ता लगाउन नसकिएको कुरो उठेको थियो ।
त्यसैगरी डेउडा गित प्रतियोगितामा गर्भमा लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने क्रम बढेको भन्दै खेलाडीहरुले चिन्ता ब्यक्त गरेको सुनिन्थ्योे । घरेलु हिंसा, कार्यक्षेत्रमा हुने हिंसा र महिला कामदारको ज्यालामा गरिने बिभेदको बिषय पनि डेउडा गित प्रतियोगितामा उठेका थिए ।